ओलीज्यू तपाई कसका बलमा, कसका लागि यो सबै हर्कत गर्दै हुनुहुन्छ

उपमहासचिव, धनश्याम भुसाल

१७ चैत्र, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष ओलीले पार्टीका उपमहासचिव धनश्याम भुसाललाई दोस्रो पटक सोधिएको स्पष्टीकरण पत्रको जवाफ दिने क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न उठाउँदै स्पष्टीकरणको जवाफ दिएका छन् । पार्टी अध्यक्ष ओलीले नै पार्टी विभाजन गर्न खोजेको भन्दै उनले प्रश्न गरेका छन्, ‘कसका बलमा, कसका लागि यो सबै गर्दै हुनुहुन्छ ?

ओली पक्षीय नेताहरु मात्र उपस्थित रहेको ७ चैतको केन्द्रीय कमिटी बैठकले भुसालसहित चार नेतालाई स्पष्टीकरण सोधेको थियो । उनीहरुमध्ये जवाफ दिएका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई अध्यक्ष ओलीले सोमबार मात्र ६ महिनाका लागि पार्टी सदस्यबाटै निलम्बन गरेका छन् । भुसाल र पाण्डेलाई भने २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएका थिए ।

मंलबार पार्टी अध्यक्ष ओलीलाई जवाफ पठाएका भुसालले आफूहरुलाई सोधिएको स्पष्टीकरणलाई कंगारु अदालत (नक्कली प्रक्रिया र प्रमाणका आधारमा सुनियोजित रुपमा लक्षित तथाकथित प्रक्रिया) को संज्ञा दिएका छन् । यसको जवाफ दिन आवश्यक नभएको, तर आरोप कति पूर्वाग्रही छन् र कति झूठा छन् भनेर जानकारी दिन पत्र लेखेको उनले बताएका छन् ।

‘पार्टी विभाजनको रेखा कोर्नुभयो’

उपमहासचिव भुसालले पार्टी अध्यक्ष ओलीले नै एमालेमा विभाजनको रेखा कोरेको आरोप लगाएका छन् । २८ फागुनमा आफ्ना गुटका मानिसहरु मात्र भेला गरेर नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको जिम्मेवारी हेरफेर, २३ जना केन्द्रीय सदस्य मनोनयन र संविधान संशोधन जस्ता निर्णय गरेर अध्यक्ष ओलीले नै पार्टी विधानको उल्लंघन गरेको उनको आरोप छ । उनले भनेका छन्, ‘त्यहीबाट पार्टीमा विभाजनको रेखा कोरिएको छ ।’

पत्रमा उनले अध्यक्ष ओलीले नै कसरी पार्टीको वैधानिक व्यवस्थाको उल्लंघन गरे भन्ने पनि उल्लेख गरेका छन् ।

केन्द्रीय कमिटीको बैठकको सूचना र कार्यसूची तीन दिन अगाडि नै केन्द्रीय सदस्यलाई दिनुपर्ने भएपनि त्यसो नगरिएको उनले बताएका छन् । यद्यपि संसदीय दलको बैठकमा ओलीले कसैलाई खबर पठाएको दाबी गरेको भन्दै उनले भनेका छन्, ‘तपाईको दाबी शतप्रतिशत झूठो हो । तपाईंको आफ्नै गुटका सदस्यहरुलाई पठाइएको मेसेजमा समेत केन्द्रीय कमिटीको बैठक भनेर खबर गरिएको थिएन ।’

‘मेरो चुनौतीपूर्ण प्रस्ताव छ, एउटा जाँच कार्यदल गठन गरौं र नेपाल टेलिकमबाट तथ्यहरु मागौं । उक्त मेसेज कुन–कुन व्यक्तिलाई गएको छ वा त्यसबाहेक अरु के सूचना जारी भएको खोजी गरौं, तपाईले झूटो बोल्नु भएको प्रमाणित भइहाल्छ ।’ ओलीले यस्तो झूट पटकपटक बोलेको उनले बताएका छन् ।

साथै २८ फागुनको निर्णयले पार्टी विधानका कुन–कुन धारा उल्लंघन भयो भनेर समेत उपमहासचिव भुसालले पत्रमा उल्लेख गरेका छन् । र, उनले भनेका छन्, ‘त्यस बैठकले गरेको भनिएका विधान संशोधन, त्यसका आधारमा पार्टी केन्द्रीय निकायमा भर्ती, पदाधिकारी परिर्वतन, राष्ट्रिय महाधिवेशन अयोजक समिति बनाउने सबै निर्णयहरु अवैध, अनाधिकृत र नक्कली ठहर हुन्छ ।’

दशौं महाधिवेशन राष्ट्रिय महाधिवेशन आयोजक समिति, अध्यक्षको हैसियत र निर्णयहरु नै अवैध भएको भन्दै उनले ओलीलाई नवौं महाधिवेशनले निर्वाचित गरेको अध्यक्षबाहेकका अन्य हैसियतमा स्वीकार नगर्ने समेत बताएका छन् ।