१५ चैत, काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच दिउंसो भेटघाट भएको
छ । यो भेटले संसदमा केही समययता देखिएको गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ ।
तीन सातायतादेखि प्रतिनिधिसभाले ‘बिजनेस’ अगाडि बढाउन नसक्ने र नयां ‘बिजनेस’ पनि नपाउने अवस्था सामना गरिरहेको बेला प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखि दिउंसो १ बजेसम्म भएको ‘वान टु वान’ भेटमा यही विषयमा छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिएका छन् ।
सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेले पनि प्रधानमन्त्री र सभामुखबीच संसदमा विचाराधीन विधेयकहरुलाई अघि बढाउने र संसद सञ्चालनको समग्र विषयमा छलफल भएको बताए ।
भेटमा संसदलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने, जरुरी र महत्वपूर्ण विधेयकहरु अगाडि बढाउने विषयमा छलफल भएको छ ।