ओलीसंग समर्पण नहुने पार्टी भित्र समानान्तर संगठन निर्माणलाई निरन्तरता दिने

१५ चैत, काठमाडौं । सर्वोच्वले ब्यूताएपछि साविक नेकपा एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहले पार्टीभित्र समानान्तर संगठन निर्माणलाई निरन्तरता दिने जनाएको छ । राजधानीमा उपलब्ध केन्द्रीय सदस्य एवम् सांसदहरुको अनौपचारिक छलफलले मातहतको संगठनमा समानान्तर कमिटी बनाउन अभियान चलाउने निष्कर्ष निकालेको हो ।

गएको ४–५ चैतमा सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलाकै म्याण्डेटअनुसार, पार्टीभित्रै अन्तरसंघर्ष गर्न समानान्तर कमिटी निर्माणको अभियान तीव्र पारिने केन्द्रीय सदस्य ठाकुर गैरे बताएकाछन् । ‘राष्ट्रिय भेलाको निर्णय कार्यान्वयन गर्नेतिर जान्छौं । त्यो भनेको पार्टी पुनर्गठन प्रमुख हो ।

सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले ब्युंतिएपछि यो समूहले २ जेठ २०७५ अगाडिकै एमाले पार्टी संरचना र विधानअनुसार बैठक बोलाउनुपर्ने माग राख्दै आएको छ । तर, यसबीचमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट केन्द्रीय सदस्यको बैठक राखी विभिन्न निर्णय गरेका थिए र उक्त निर्णय फिर्ता नहुने अडानमा छन् । शुक्रबार बोलाइएको संसदीय दलको बैठकमा पनि ओलीले कुनैपनि बैठकले गरेको निर्णय फिर्ता नहुने बताएका थिए ।

बरू, नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई समानान्तर गतिविधि गरेको भन्दै स्पष्टिकरण सोधिएको छ । स्पष्टिकरण सोधिएपछि कालीमाटीमा भएको अनौपचारिक छलफलले समानान्तर संगठन निर्माणलाई जोड दिंदै अन्तरसंघर्ष गर्ने निष्कर्ष निकालेको छ ।

‘हामी प्रष्ट छौं । पार्टीलाई विभाजनबाट रोक्ने, तर समर्पण नगर्ने’, केन्द्रीय सदस्य गैरे भन्छन् । अर्थात्, छुट्टै पार्टी निर्माण नगर्ने, तर एमालेभित्रै समानान्तर संगठन बनाउने यो समूहको निष्कर्ष छ । ओलीले भने नेपाल र रावलको स्पष्टिकरणपत्र कार्बाही योग्य भएको बताएका छन् । भुसाल र पाण्डेले भने पत्र पठाएको छैनन् ।
अखिल नेपाल महिला संघ, अनेरास्ववियु र युवा संघमा समानान्तर नेतृत्व चयन गरिसकेको यो समूहले प्रदेश र जिल्ला संगठनमा पनि छुट्टै नेतृत्व चयन गर्ने प्रक्रिया नरोक्ने भएको छ । ‘राष्ट्रिय भेलाले गरेको निर्णय अनुसार, पार्टी पुनर्गठनलाई नरोक्ने निर्णय भएको छ ।