Breaking News

अदालतले पार्टीलाई साविकको अवस्थामा फर्काएपछि त्यही केन्द्रीय कमिटी बैठक गरेर समाधान खोज्नुपर्छ

१३ चैत, काठमाडौं । नेकपा एमालेको आज बसेको संसदीय दलको बैठकमा सांसद गोकर्ण बिष्टले पार्टी एकता जोगाउन नेताहरुले इगो र टसल अन्त्य गर्नुपर्ने बताएका छन् ।

एमाले संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा समय लिएर बोलेका बिष्टले पार्टीको अन्तरविरोध अन्त्य गर्न प्रधानमन्त्रीले पहल गर्नुपर्ने बताएका हुन् ।

पार्टी अध्यक्षको हैसियतले अत्यन्त गम्भीरताका साथ पार्टीको एकता मजबुत पार्ने जिम्मा प्रधानमन्त्रीज्यूमा छ’ बिष्टले भने, ‘विगतमा पार्टी द्वन्द्वभित्र रहेका बेला के अन्तरविरोध रह्यो । कसले के ग¥यो भन्ने कुरालाई थाती राखेर नयाँ ढंगले पार्टी एकता र आन्दोलनको लागि पहल गर्न जरुरी छ ।

एमाले संसदीय दलको बैठकमा आजबाट माधव नेपाल पक्षका सांसदहरु पनि सहभागी भएका थिए । बैठकमा झलनाथ खनाल, घनश्याम भुसाल, गोकर्ण बिष्ट र योगेश भट्टराईले बोलेका थिए ।

बिष्टले २०५४ सालमा सानो अन्तरविरोधले विभाजनको अवस्था आएको उल्लेख गर्दै अहिले पनि इगो र टसलबाट लडाई भइरहेको बताए । ‘आजपनि हामी इगोको आधारमा टसलका आधारमा जुन प्रकारले लडाई लडेका छौं । त्यसले हामीलाई समाप्त पार्ने बाहेक केही गर्दैन । कमजोर बनाउने बाहेक केही गर्दैन’ बिष्टले बैठकमा भने, ‘एक बाल्टिन बरफ पानी खन्याएर पनि ठन्डा दिमागले अनौपचारिक संवाद मार्फत् पार्टीभित्र निकास खोज्न जरुरी छ ।
संवादबाट निकास खोज्ने मुख्य जिम्मा प्रधानमन्त्री ओलीकै भएको बताए । माओवादी केन्द्र छाडेर प्रधानमन्त्री ओली निकट बनेका २३ केन्द्रीय सदस्य थप गरिएको विषयलाई समेत सकरात्मक टिप्पणी गरेका थिए । तर त्यसबारे निर्णय गर्न अदालतले ब्युताँएको केन्द्रीय समितिको बैठक आवश्यक हुने उनको तर्क थियो ।

जहांसम्म अरु साथी थप गरिएको कुरा छ । ठिक छ आवश्यकता अनुसार थप्नुपर्ने अवस्था पनि रहला,’ विष्टले भने, ‘अदालतले पार्टीलाई साविकको अवस्थामा फर्काएपछि त्यही केन्द्रीय कमिटी बैठक गरेर समाधान खोज्नुपर्छ । म पनि पार्टीको केन्द्रीय सचिव हुं ।

फागुन २८ गतेको बैठकको न म्यासेज आयो न फोन आयो । यो ढंगले केहीले गरेको निर्णयलाई पार्टीको निर्णय मान्न
हुंदैन । हामीले विधिमा प्रवेश गरेर पार्टीको औपचारिक बैठकद्वारा हरेक समस्याको समाधान खोज्नेगरी गम्भीरताका साथ अगाडि बढ्न जरुरी छ ।

एमाले सचिव, गोकर्ण बिष्ट