कोरोना संक्रमण बढ्नसक्दै भन्दै मन्त्रालयद्धारा बिद्यालयलाई सावधानी अपनाउन आग्रह

१२ चैत, काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसका संक्रमण बढ्न थालेपछि नेपालमा त्यसको अर पर्ने स्पष्ट भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको संक्रमण फेरि बढ्न सक्ने भन्दै विद्यालयहरुलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माले आज एक सूचना जारी गरी शिक्षण संस्थामा मास्क, सेनिटाइजरको प्रयोग गर्ने, साबुन पानीले हात धुने, ज्वरो नाप्ने, संक्रमणको लक्षण देखिएमा स्वास्थ्य संस्थामा लैजाने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

त्यस्तै विद्यालयमा भिडभाड नहुने गरी पठनपाठन सञ्चालन गर्न, वार्षिक उत्सव, सभा, समारोह नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

सूचनामा सबै प्रकारका शिक्षण संस्थाहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेको जनस्वास्थ्य र सुरक्षा सम्बन्धी मापदण्ड र विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७ को पूर्ण अनुशरण गर्न पनि आग्रह गरिएको छ ।