सांसद रेशम चौधरीलाई रिहा गर्न माग गर्दै धर्नामा बसेका थारु अगुवालाई भेट्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ माईतीघरमा

१२ चैत, काठमाडौं । जसपाका नेता तथा निलम्बित सांसद रेशम चौधरीलाई रिहा गर्न माग गर्दै धर्नामा बसेका थारु अगुवालाई भेट्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बिहीबार माइतीघर मण्डला पुगेका छन् ।

थारु कल्याणकारिणी सभाको अगुवाईमा बसेको धर्नास्थलमा पुगेका गृहमन्त्री थापाले रेशमको रिहाइबारे छलफल गर्न वार्ता टोली बनाएर आउन आग्रह गरेका छन् ।
थारु कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरीले भने, ‘माननीय रेशम चौधरीको रिहाइका लागि गृहमन्त्रीज्यूले वार्ता टोली बनाएर आउन भन्नुभएको छ । साथै प्रधानमन्त्रीसँग पनि कुरा गरेर क्याबिनेटमा लैजान्छु भन्नुभएको छ ।’

उनले चांडै नै रेशम चौधरीको रिहाइको लागि थारु कल्याणकारिणि सभा, थारु अगुवाहरुको नेतृत्व गरेर सरकारसँग वार्ता टोली बनाउने समेत बताए ।

थारु कल्याणकारिणी सभाले २०७२ सालमा भएको टीकापुर घटनामा फौजदारी मुद्दा लागेकाहरुको मुद्दा फिर्ता र दोषी ठहर भई जेलमा रहेकाहरुको रिहाइको माग गर्दै आइतबारदेखि धर्ना दिएका हुन् ।

प्रदेश विभाजनमा असन्तुष्ट थारु समुदायको आन्दोलनका क्रममा ७ भदौ २०७२ मा टीकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ९ जनाको मृत्यु भएको थियो । घटनाको योजनाकार भएको भन्दै जिल्ला अदालत कैलालीले चौधरीलाई जन्मकैदको सजाय सुनाएको थियो, जसलाई उच्च अदालतल दिपायलले सदर गरेको छ ।

हाल डिल्लीबजार कारागारमा रहेका चौधरीलाई रिहा गर्न माग गर्दै थारु समुदायको अगुवा संस्था थारु कल्याणकारिणी सभाले भने आन्दोलन गर्दै आएको छ ।