लकडाउन नगर्ने मुडमा सरकार

११ चैत्र,काठमाण्डै । छिमेकी देश भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै नेपालमा पनि त्रास बढेको छ । भारतसँगको खुला सीमा नाकाका साथै स्वास्थ्य मापदण्डको समेत पालनामा ध्यान नदिइँदा संक्रमणको जोखिम बढ्दै गएको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो साता संक्रमण दर बढ्दै गएको देखिएको छ । मन्त्रालयको विवरणअनुसार हिजो ४ हजार ३२ जनामा कोरोना परीक्षण गर्दा १८८ जनामा संक्रमण पुष्टि भएको छ । सोमबार पनि १५० जनामा संक्रमण पुष्टि भएको थियो । यसअघि आइतबार ७७ जनामा संक्रमण पुष्टि भएको थियो ।

हाल नेपालमा आइसोलेशनमा १ हजार १२८ जनामात्रै भए पनि बढ्दो संक्रमण दर र पर्याप्त सावधानी नअपनाइनुले पुनः संक्रमणको अवस्था भयावह बन्ने हो कि भन्ने चिन्ता बढेको छ । सँगसँगै देश पुनः लकडाउनमा जाने हो कि भन्ने चिन्ता समेत थपिएन थालेको छ ।

सरकारले कोरोना संक्रमण बढ्दै गएपछि गत वर्ष चैत ११ अर्थात आजकै दिन लकडाउनको घोषणा गरेको थियो । करिब चार महिना लामो लकडाउन हुँदा अर्थतन्त्र क्षेत्र ध्वस्त हुनुका साथै जनजीवन कष्टकर बनेको थियो । लकडाउनपछि जनजीवन सामान्य अवस्थातिर फर्किँदै गर्दा फेरि संक्रमणको दोस्रो लहरको त्रास सुरु हुनुका साथै आगामी दिन कसरी अघि बढ्ला भन्नेतर्फ आम नेपालीको चासो बढेको छ ।

यही आम नेपालीको चासोका बीच सरकार भने पहिलेको जस्तो लकडाउन नगर्ने पक्षमा देखिएको छ । स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्दै जाने तर, लकडाउन नै भने नगर्ने मुडमा सरकार देखिएको हो ।

ओली सरकारका एक प्रभावशाली मन्त्रीका अनुसार सरकार विगतमा जस्तो हतारमा लकडाउन गरेर कोरोना नियन्त्रणमा लाग्ने भन्दा पनि यसपटक विगतका कमजोरीबाट पाठ सिक्दै अघि बढ्ने योजनामा रहएको छ ।

मन्त्रीका अनुसार सरकार तत्काल लकडाउन गर्ने भन्दा पनि स्वास्थ्य मापदण्ड पालना गर्ने, सीमामा सतर्कता अपनाउने र हवाइ उडानमा थप योजनावद्ध नीति लागू गर्नुका साथै क्वारेन्टिनको उचित व्यवस्थापन र समग्र स्वास्थ्य प्रणालीको सही परिचालनमा सरकारको जोड रहनेछ ।

यस्तै, बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक समेत बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कोरोना रोकथाम र न्यूनीकरणका लागि सरकारले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल हुने बताइएको छ । यसबाहेक कोरोना कहरका बीच सीसीएमसीले गरेको कामकारबाही समेटिएको पुस्तक विमोचन गर्ने कार्यक्रम पनि रहेको एक मन्त्रीले जानकारी दिएकाक छन् ।

स्वास्थ्य मापदण्ड पालनामा मन्त्रालयको जोड…
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतका विभिन्न प्रान्तहरुमा कोभिड–१९ को संक्रमण बढिरहेको सन्दर्भमा नेपालमा पनि सोको जोखिम बढ्न सक्ने भएकाले स्वास्थ्य मापदण्ड पालनामा जोड दिएको छ ।

मन्त्रालयले सबै प्रवेश बिन्दुका हेल्थ डेस्कहरुमा ज्वरो आएका यात्रुहरुको आरडीटी तथा सम्भव भएसम्म कोभिड–१९ को पीसीआर परीक्षणको व्यवस्था मिलाउन प्रवेश स्वास्थ्य निर्देशनालयसहित सरोकारवाला निकायलाई आग्रह गरेको छ ।

यस्तै, परीक्षणका क्रममा पोजेटिभ रिपोर्ट आएकालाई उचित उपचारको व्यवस्था गर्न, स्थानीय निकाय, स्वास्थ्य संस्था तथा प्रयोगशालाहरूले आवश्यक सहयोग तथा समन्वय गर्न पनि आग्रह गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।