ओली सरकार रहेसम्म संसदको अपमान भईरहन्छ

गगन थापा

१० चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले वर्तमान सरकार रहेसम्म संसदको अपमान बढ्दै जाने बताएका छन् ।
‘जति दिन यो सरकार रहन्छ संसदको तिरस्कार र अपमान उपेक्षा गर्ने काम अझ बढ्दै जान्छ । किनकि प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनुछ’, आज सांसदमा थापाले प्रतिनिधिसभाको बैठकमा भने, ‘तर, हामी हाम्रो ठाउँबाट संसदको गरिमा कायम राख्नका निम्ति लड्ने छौ ।

थापाले प्रतिनिधिसभा भंग गर्दा सांसदहरुको नभइ जनताको अपमान भएको भन्दै जनताले आफूलाई गरेको अपमानको बदला यथोचित समयमा लिने बताए ।

‘संसद विघटन, संसद र सांसदको अपमान, यो लोगो लगाउने केही थान सांसदको तिरस्कार र अपमान होइन । यो ती जनताको अपमान हो । जसले यो संसद बनाएको छ । जसले हामीलाई सांसद बनाएको छ । आफ्नो अपमानको बदला जनताले यथोचित समयमा लिनेछन् थापाले भने ।

प्रतिनिधिसभा भंग गर्ने निर्णय सही थियो भन्ने स्थापित गराउन सरकारले संसदलाई कामविहीन बनाउन खोजेको पनि उनले टिप्पणी गरेका छन् ।

‘एसिड आक्रमण गर्नेलाई कारबाही गर्न कानुन बनाउन दिएन भनेर हल्ला गर्ने, तर संसदलाई एउटा पनि विधेयक नदिने ? अनि विधेयकलाई कानुन बनाउन चाहिने राष्ट्रिय सभाको बैठक नबोलाउने ?’ सांसद थापाले प्रश्न गरे, ‘यो विधेयक अधिवेशन हो । हामी काम गर्न तयार छौं ।’

सरकारले ल्याएका एसिड कारोबारलाई नियन्त्रण गर्नेसहितका सात वटा अध्यादेश प्रतिनिधिसभामा पेश हुन आजसम्म सकेको छैन । सरकारले संसदमा अध्यादेश गर्न नदिएको भनेर विपक्षी दलहरुको आलोचना गर्ने गरेको छ ।