९ चैत, काठमाडौं । ज्योति लाइफको आइपिओ आउंदो चैत १३ गते शुक्रबारका दिन बांडफांड हुने भएको छ । बिक्री प्रवन्धक एनएमबि क्यापिटलका अनुसार सो दिन बांडफांड गर्नेगरी तयारी भएको छ ।
ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ बांडफांडमा केही ढिलाई भएको छ । सामान्यतः आइपिओको बिक्री बन्द भएको एक सातामा बाँडफाँड हुंदै आएकोमा यसमा २ साताभन्दा बढी समय लाग्ने भएको छ ।
आवेदकको संख्या पनि यसमा हालसम्मकै उच्च थियो । १८ लाखले आवेदन दिएका छन् । कुल ६६ लाख कित्ता सर्वसाधारण समूहको सेयर जारी भएकोमा कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ । यसर्थ ५ लाख ९४ हजार जनाले मात्रै १० कित्ताका दरले सेयर पाउने छन् । करिब १२ लाखको हात रित्तो हुने भएको छ ।
ज्योति लाइफ इन्स्योरेन्स पछिबाट खुलेको नयाँ बीमा कम्पनी हो। नयाँ जीवन बीमा कम्पनीमध्ये यसअघि प्रभु र रिलायन्स लाइफले आइपिओ जारी गरिसकेका छन् ।
आइएमई, युनियन, रिलायबल, सिटिजन, सन नेपाल, सानिमा र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ जारी गर्न बाँकी छ ।
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्म १ अर्ब ४४ करोड रुपैयां बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १४ रुपैयां छ ।
प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ छ भने प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३३९ रुपैयाँ छ । कम्पनीले दोस्रो त्रैमासिक अवधिमा १० करोड रुपैयां खुद नाफा कमाएको छ ।
जवकि गत वर्षको यसै अवधिमा ६ करोड ८९ लाख कमाएको थियो। कम्पनीलाई केयर नेपालले एनपी ‘बीबीबी’ रेटिङ प्रदान गरेको छ ।
यसले कम्पनीको वित्तीय स्थिति औसतभन्दा राम्रो रहेको जनाउंछ ।