नेकपा एमालेको माधव समूहको २ दिने राष्ट्रिय कार्यकर्ता भेलाबाट १७ बुंदे प्रस्ताव पारित

५ चैत, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहको २ दिने राष्ट्रिय कार्यकर्ता भेलाबाट १७ बुंदे प्रस्ताव पारित गरेको छ । भेलाको दोस्रो दिन आज बिहीबार एमाले उपाध्यक्षसमेत रहेका नेता भीम रावलले पेश गरेको १७ बुंदे प्रस्ताव छलफलपछि पारित गरेको हो ।

प्रस्तावमा फागुन २८ गते अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समितिको विशेष बैठक भनी गरेको विभिन्न निर्णयलाई अस्वीकार गर्ने उल्लेख छ ।

त्यस्तै राष्ट्रिय सम्मेलनले संसद विघटन बदर गर्ने सर्वोच्च अदालतको स्वागत गरेको छ भने एमाले र माओवादी पार्टी ब्युंताउने फैसलाप्रति असहमति प्रकट गरेको छ ।

भेलामा सहभागी नहुन अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमा धम्की दिएको भन्दै सम्मेलनले गुट र सत्ता स्वार्थमा पार्टीको दुरुपयोग नगर्न ओलीलाई आग्रह गरेका छन् । त्यस्तै कोरोना महामारीको खोपको भरपर्दो व्यवस्था गर्न पनि माग गरेको छ ।