४ चैत्र, काठमाडौं । एमाले नेता माधवकुमार नेपाल पक्षीय राष्ट्रिय कार्यकर्ता भेलामा बोल्दै वरिष्ठ नेता नेपालले केपी शर्मा ओलीका साइबर सेनाहरूबाट होसियार हुन आग्रह गरेका छन् । ओलीका साइबर सेनाले अहिले पनि भ्रम फैलाइरहेको भन्दै नेकपा हुँदा मात्रै साइबर सेना रहेको भनेर आफुले बुझेपनि त्यो गलत रहेको बताए ।
‘फेक सूचना जारी गरी भेला स्थगित गरेको भनेर भ्रम फैलाइयो । ओलीका साइबर स्यालहरु अहिले पनि ज्यूँदै रहेछन् । बाँचिरहेका रहेछन् । हिजोमात्रै नेकपा हुँदा मात्रै होलान् भनेको होइन रहेछ । होसियार । भोलि पनि साइबर स्यालहरुबाट यस्तै गलत सूचना आउनेछन् । अलमलमा पार्नेछन् । तर अल्मलिन जरुरी छैन’ कार्यकर्तालाई नेपालको आग्रह छ ।
नेपालले ओलीसँगको लडाई पदका लागि नभई विधि, सिद्धान्त, विचार, लक्ष्यसँग र इमानदारितासँग जोडिएको भन्दै लडाईंको अग्निपरीक्षामा उत्तिर्ण भएरै छाड्ने पनि बताए । ओलीबाट पीडितहरु बीचको एकता भएको भन्दै नेता नेपालले भने, ‘कम्युनिस्ट पार्टी कस्तो र कसरी चलाउनुपर्छ भनेर बहस भइरहेको छ ।’
नेता नेपालले पार्टीमा अहिले गम्भिर प्रश्न खडा हुनुमा अध्यक्ष ओली नै जिम्मेवार रहेको दावी गरे । ‘उहाँको चिन्तन, व्यवहार, कार्यशैली कस्तो छ ? कस्तो रहँदैछ भन्ने अनुभव धेरै योद्धाहरूसँग रहेका छन्’ उनले ओलीमा आई एम द पार्टी भन्ने तानाशाही प्रवृत्ति देखाएको दावी गरे । ‘अहंकार गुटगत प्रवृति, पार्टी एकतालाई स्वार्थ सिद्ध गर्ने, जबज सिध्याउने काम गर्नुभयो । आज तपाई जबजको हिमायती भन्नुहुन्छ, यस्ता नक्कली कुरामा कोही भ्रममा नपरौं’ नेपालको भनाई छ ।
उनले जबज र राष्ट्रिय पुँजीवादको कुरा गरेपनि दलाल पुँजीवादको पक्ष पोषणमा लागेका ओली एकताको कहिल्यै पक्षपाती नभएको र लडाउने भिडाउने काममा लागेको बताए । ‘हुँदाहुँदा प्रधानमन्त्रीको कुर्सी बचाउन संविधान नै सक्ने योजनामा लाग्नुभयो’ नेता नेपालले ओलीका सबै हर्कतहरुबारे भेलामा छलफल गर्ने बताए ।