२९ फागुन, काठमाण्डौ । सर्वोच्व अदालतबाट पुनस्थापित भएको नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहको महिला संघको भेलालाई सम्बोधन गर्ने क्रममा नेकपाको अर्को पक्ष झलनाथमाधव समूहलाई चैत ७ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन आग्रह गरेका छन् । निरन्तर बैठकमा अनुपस्थित भए विधानअनुसार हुने भन्दै उनले कारबाहीको संकेत गरे ।
१११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एमालेसम्बद्ध अखिल नेपाल महिला संघले शनिबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘पेरिसडाँडाबाट रुवाबासी गर्दै हिँड्नु भएको थियो रे । केही दिन अर्याल होटलमा बास बस्नु भएको छ रे । प्रशस्त समय रहोस् भनेर ७ गते बैठक बोलाएको छु ।
७ गते केन्द्रीय कमिटी बैठक बालुवाटारमा बोलाएको छु । केन्द्रीय कमिटीका सदस्यहरु आउनुहोला । अनुपस्थित रहँदै जानुभयो भने विधानको व्यवस्थाअनुसार हुँदै जानेछ ।
आफूलाई पार्टीको साधारण सदस्यबाट निकालेको भनेपनि आफूले कसैलाई कतैबाट ननिकालेको उनले बताए । तर पार्टीको कामलाई अगाडि बढाउन केही नेताहरुलाई जिम्मेवारी दिइएको भन्दै उनले अरु नेताहरु आएपछि सल्लाह गरेर अगाडि बढ्ने बताए ।
अध्यक्ष ओलीले भने, ‘बाटो बिराएका नेताहरुलाई पनि भन्न चाहन्छु, सच्चिनुस् र आउनुस् ।’ तर केपी ओलीलाई ठेगान लगाउँछौं भन्ने वक्तव्यबाजी भएको आफूले सुनेको भन्दै उनले भने, ‘केपी ओलीलाई ठेगान लगाउन आउनुभयो भने बाटैमा ठेस लाग्छ ।