धारिलो हतियार प्रहार गरी एक युवकका हत्या

२५ फागुन, बारा । प्रदेश २ को बारा जिल्लामा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरिएको छ । बाराको निजगढ नगरपालिका–९ बुद्धचोकस्थित १९ वर्षीय रोहित शर्माको घरभित्रै हत्या भएको हो ।

प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । अनुसन्धानका लागि विशेष तालिमप्राप्त कुकुर झिकाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

रौतहट चन्द्रनिगाहपुर घर भएका उनी निजगढ नगरपालिकामा पनि रहेको आफ्नै घरमा बस्दै आएका थिए । दुई तले घरको तल्लो तलामा खाजा पसल छ । माथिल्लो तलामा उनी एक्लै बस्दै आएका थिए ।

मंगलबार बिहान खाजा पसल खोलेकाहरुले माथिल्लो तलामा हल्लाखल्ला सुनेको र कोही व्यक्ति भर्याङबाट ओर्लिएर बाइक स्टार्ट गरेर भागेको देखेको बताएका छन् । सो सूचनापछि घटनास्थलमा पुगेको प्रहरीले माथिल्लो तल्लामा रोहितको मृत शरीर फेला पारेको थियो ।