सासद पद गए जान्छ म ओलीको साथ छाड्दिन

प्रदेशसभा सदस्यमा, दधिराम न्यौपाने

तत्कालीन माओवादी केन्द्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित दधिराम न्यौपाने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएपछि पनि माओवादी केन्द्रमा नफर्किने बताएका छन्।

रुपन्देही क्षेत्र नं. १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित न्यौपाने नेकपामा विभाजन आएपछि केपी ओली समूहमा लागेका थिए ।
आइतबार सर्वोच्च अदालतले ओली-प्रचण्ड नेतृत्वको नेकपा खारेज गरी माओवादी केन्द्र र एमाले ब्युँतिएपछि माओवादी केन्द्रमा नफर्किने र एमालेमै रहने बताएका हुन्।

माओवादी केन्द्रबाट निर्वाचित सांसद उक्त पार्टीमा नफर्किए सांसद पद नरहला नि? भन्ने सेतोपाटीको जिज्ञासामा प्रदेशसभा सदस्य न्यौपानेले आफूलाई पदको लोभ नभएकाले सांसद पद गए पनि ओली नेतृत्वको पार्टी नछोड्ने बताए।

‘सांसद पद गए जान्छ के भयो त, जसले सांसद पद दिन्छ उतै जाने कुरा भएन, म राजनीतिक वैचारिक रूपमै ओली समूहमा लागेको हुँ, मलाई पदको लोभ छैन, म भएर नै सांसद पद पाएको हुँ, सांसद पद पाएर म भएको होइन,’ न्यौपानेले भने।

न्यौपानेले हिजो राजनीतिक वैचारिक रूपमा कुरा मिलेर पार्टी एकीकरण भएको र सोही अनुरूप नीति कार्यक्रम योजना तय गरे पनि पार्टीमा विग्रह आएपछि राजनीतिक वैचारिक रूपले स्पष्ट भएर केपी ओलीको समूहलाई समर्थन गरेकोले अदालतको आदेशपछि पनि ओली पक्षमै रहने स्पष्ट पारे।

न्यौपानेसँगै अन्य केही सांसदहरू समेत एमालेसँगको सहकार्य तोड्न नहुने पक्षमा रहेका छन्।

‘न्यौपाने जस्तै एमालेमा हुने अवस्था नहोला तर दुई पार्टीको सरकार ढालेर खिचडी सरकार बनाउने सम्भावना छैन’, माओवादी केन्द्रबाट निर्वाचित एक सदस्यले भने, ‘म तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित भए पनि अब त्यो पार्टीसँग सम्बन्धबिच्छेद गरिसकें। मलाई पदको लोभ नभएकोले सांसद पद गए पनि ओली नेतृत्वको पार्टी छोड्दिनँ।’

सर्वोच्च अदालतको फैसलासँगै धरापमा परेको भनिएको लुम्बिनी सरकार ढल्ने कुनै सम्भावना नरहेको लुम्बिनी प्रदेश सरकारका मन्त्रीहरूले दाबी गरेका छन्।

‘सरकार समस्यामा पर्न लाग्यो भन्ने गलत हल्ला फैलाइएको छ लुम्बिनी प्रदेश सरकार तलमाथि गर्ने कुनै सम्भावना छैन’, सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले भने।

चौधरीका अनुसार सर्वोच्चको फैसलापछि सरकार ढल्ने आशंका बढे पनि पुस ५ गते यताका सरकार बचाउने प्रयास स्वरूप प्रदेशसभा सदस्यहरूसँग धेरै पटक छलफल भएको छ।

‘प्रदेशसभामा ४१ सिट रहेको तत्कालीन एमालेलाई सरकार टिकाउन थप ३ सिट भए पुग्छ। त्यसको जोहो प्रदेशका मुख्यमन्त्रीले गरिसक्नु भएको छ’, उनले भने, ‘त्यसमाथि तत्कालीन माओवादी केन्द्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित दधिराम न्यौपाने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएपछि पनि माओवादी केन्द्रमा नफर्किने बताएपछि मुख्यमन्त्री शंकर पोखरेलको पद नजाने देखिएको छ।

सेतोपाटीबाट