प्रचण्ड–नेपाल स्थायी समिति बैठकको निर्णय : पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग भएर जाने

२४ फागुन, काठमाण्डौ । प्रचण्ड–नेपाल स्थायी समितिका पूर्व माओवादीको पार्टी कार्यालय पेरिस डांडामा बसेको बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको छ ।

आज पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए । पत्रकारलाई छोटकरीमा जानकारी दिएपछि ‘फेरि भेटौंला’ भन्दै उनी बाहिरिए ।

यसअघि सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता ऋषिराम कट्टेललाई दिएको छ ।

त्यसपछि प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेकपा खारेज भएको हो । अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएको छ ।

यसअघि नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले बानेश्वरको होटल अर्यालमा छलफल गरेका थिए ।
एक केन्द्रीय सदस्यका अनुसार एमालेमै रहेर पनि ओलीसँग लड्न नेपाल समूह सक्षम रहेको छ ।

केपी शर्मा ओली नेतृत्वको तत्कालीन नेकपा (एमाले) का १२० प्रतिनिधि सभा सदस्यमध्ये अहिले नेपाल समूहसँग ४० जना सांसद छन् भने थप दुई जना पनि आफूहरूतिर आउने उनीहरूको दाबी छ । त्यस्तै नेकपा एमालेको साबिकको केन्द्रीय समितिमा पनि नेपाल समूह झन्डै बराबरीको हैसियतमा छ ।