प्रतिनिधि सभाको बैठक आज अपरान्ह ४ बजे बस्दै यस्ताछन् कार्यसूची

२३ फागुन, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज अपरान्ह ४ बजे बस्दैछ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले आज आइतबार अपरान्ह ४ बजेका लागि प्रतिनिधि सभा बैठक आह्वान गरेकी थिइन् ।

सरकारले पुस ५ मा प्रतिनिधि सभा विघटन गरे पनि सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रतिनिधि सभा पुनस्थापना भएको थियो ।

सर्वोच्चले प्रतिनिधि सभा पुनस्थापनासँगै १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन भनेको थियो ।

आजको बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ ।

यस्तै सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद गठन सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन् ।

साथै आजको बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीले अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद सम्बन्धी र गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल प्रहरी र प्रदेश प्रहरी, सामाजिक सुरक्षा, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेशलगायत पेश गर्ने सम्भावित कार्यसूची छ ।