काठमाडौंबासीका लागि एउटा ग्यारेन्टी भयो, काठमाडौंमा पानी झर्यो

२२ फागुन, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आइपुगेको छ । आज शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि फागुन १० गते सुरुङमा हालिएको पानी सुन्दरीजलमा खसेको छ ।

यो पानी अहिले बागमती नदीमा खसालिएको छ । सुरुको पानी फोहोरसहित पानी आउने भएकाले प्रशोधन केन्द्रमा नहाली बागमती नदीमा खसालिएको हो ।

आज लामो सपना पुरा भएको भन्दै प्रधानमन्त्री ओलीले केही दिनमा घरघरमा पानी आउने दाबी गरे । उनले भनेका छन्, ‘काठमाडौंबासीका लागि एउटा ग्यारेन्टी भयो, काठमाडौंमा पानी झर्यो । केही दिनमा वितरण हुने भयो ।

मेलम्ची खानेपानी आयोजनाको कुरा चल्दा आफ्नो कपाल कालै रहेको, तर काम सम्पन्न हुँदा कतै कालो बाँकी नरहेको चर्चा गर्दै उनले भने, ‘यो खुसीको दिन हो । जतिबेर पायो, त्यतिबेर लड्ड खाने होइन । यस्तो बेलामा खाने हो ।

ओलीले कटाक्ष नेकपा प्रचण्ड–माधव समूहतिर थियो, जसले प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरेको दिन खुसी साट्दै लडु खाएका थिए ।

मेलम्चीमा लामो समयको प्रतिक्षा पुरा भएको भन्दै उनले केही दिनमा धारामा पानी आउने बताए । यसअघि काम गर्न दिएनन्, आफ्नै पार्टीबाट असहयोग भयो भन्नुपरेको भन्दै उनले भने, ‘अब त प्रमाणित भयो होला नि । दिनैपिच्छे ठूलठूला काम भएका छन् । कही उद्घघाटन भएका छन्, कहि शिलान्यास भएका छन् ।’

काठमाडौंलाई पानी दिएकोमा मेलम्ची, हेलम्बु र सिन्धुपाल्चोकबासी लाई उनले धन्यवाद दिएका थिए ।