२२ फागुन, काठमाडौं । सरकारसंग तीन बुंदे सहमति गरेर शान्ति प्रक्रियामा आएको विप्लव समुहका असन्तुष्ट पार्टी नेता तथा कार्यकर्तालाई प्रवेश तथा स्वागत कार्यक्रममा बोल्दै नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लवलाई पार्टीमा स्वागत गर्ने प्रतिक्षामा आफू रहेको बताएका छन् । आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले ‘विप्लवजी अन्तत्वगत्वा मैले कोरेको गोरेटोमा आइपुग्नु भएको छ । उहाँलाई म धन्यवाद भन्न चाहन्छु । छिट्टै यस्तै कार्यक्रममा उहाँलाई स्वागत गर्ने प्रतिक्षामा रहेको कुरा पनि घोषणा गर्न चाहन्छु ।
विप्लव आफ्नो टिममा आउनुपर्ने पनि बताए । ‘जहाँसम्म मैले उहाँलाई जानेको छु, चिनेको छु । उहाँ यही ठाउँमा यही लाइनमा यही टिममा उहाँ आउनै पर्छ । मैले धेरै पहिले भनेको थिएँ । जतिबेला उहाँ मबाट अलगिनुभयो । एउटा दिन आउने छ, त्यो दिन तपाईं यहाँ हुने हुने छ भनेको थिएँ ।
विप्लवले अर्को प्रचण्ड भन्ने प्रयास गरेपनि असफल भएको उनको भनाइ थियो । ‘अर्को प्रचण्ड अहिले हुँदैन भनेको थिएँ। उहाँ प्रचण्डकै बाटोमा आउनुभयो । त्यसकारण उहाँलाई धन्यवाद दिन्छु ।’
आफू र माधव नेपालले नेतृत्व गरेको पार्टी नै मुल पार्टी भनेर सावित भइसकेको उनले बताए ।