बजारमा खाने तेल र ब्रोइलर कुखुराको मासुको मूल्य बढेको बढ्यै

२१ फागुन, काठमाडौं । बजारमा खाने तेल र ब्रोइलर कुखुराको मासुको मूल्य बढेको बढ्यै छ । दुई साताअघि घटेको सोयाबिनको तेलको भाउ प्रतिलिटरमा पुनः १५ रुपैयांसम्मले बढेको नेपाल खुद्रा ब्यापार संघले जनाएको छ ।

प्रतिलिटर होलसेल २ सय रुपैयांमा झरेको सोयबिनको तेलको भाउ पुनः २१५ रुपैयां पुगेको संघले जनाएको छ । तेलबाहेक अन्य खाद्यान्नको भाउ स्थिर रहेको संघका सदस्य ध्रुब अधिकारीले बताए ।

यो साता ब्रोइलर कुखुराको मासु बर्डफ्लु हल्लाकै बीचमा पनि किलोमा ३० रुपैयांसम्मले महंगो भएको छ । गत साता प्रतिकिलो २५० देखि ६० रुपैयांसम्ममा कारोबार भएको मासुको भाउ अहिले २९० रुपैयांभन्दा माथि पुगेको राष्ट्रिय मासु व्यवसायी संघले जनाएको छ ।

बजारमा धेरै बिक्री हुने रहु माछाको मूल्य पनि किलोमा ३० रुपैयांले महंगो भएको छ । खसी, रांगाको मासु तथा बंगुरको मासु लगायतका मासुको भाउमा भने यो साता कुनै परिवर्तन भएको छैन ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यो साता हरियो तरकारीको भाउमा सामान्य वृद्धि भएको छ । मुख्य गरेर च्याउको मूल्य किलोमा ३० देखि ४० रुपैयांसम्मले बढेको समितिले जनाएको छ ।

यस्तै करेलाको भाउ पनि किलोमा ३० रुपैयांसम्मले बढेको छ । साग, आलु, बन्दा, गोलभेडा जस्ता तरकारीको भाउमा झिनो घटबढ देखिएको छ भने मसलाजन्य कृषि उपजको बजार मूल्य केही मात्रामा घटेको छ ।

सुकेको प्याज, लसुन, धनिया, सुकेको खुर्सानी लगायतका तरकारीको भाउ किलोमा ३० रुपैयांसम्मले घटेको छ । यस्तै फलफूलको मूल्यमा प्रतिकिलो १० देखि ३० रुपैयांसम्म गिरावट आएको छ ।

फुजी स्याउको मूल्य प्रतिकिलो ३० रुपैयांले घट्दा केरा, अंगुर, नेपाली सुन्तला लगायतको भाउ भने १० रुपैयांले आरोलो लागेको छ ।