घरजग्गाको कारोबारलाई संस्थागत बनाई व्यवस्थित तथा पारदर्शी बनाउन सरकारले अध्ययन शुरू गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले घरजग्गाको कारोबार गर्न आधिकारिक संस्था बनाउन विभिन्न अवधारणामाथि अध्ययन शुरू गरिरहेको छ ।
घरजग्गाको कारोबार गर्न एउटा मान्यता प्राप्त र विश्वसनीय संस्था विकास गर्न सरकारले यस्तो गृहकार्य अघि बढाएको दाबी गरेको छ ।
मन्त्रालयका प्रवक्ता जनकराज जोशीले मुलुकभर हुने घरजग्गाको कारोबारमा पारदर्शिता, जवाफदेही र यसको कारोबार गर्नेलाई जिम्मेवार बनाउने नै मुख्य लक्ष्य रहेको बताए । ‘अहिले जुन किसिमका ठगीका कारोबार, राजस्व छलीजस्ता अवैध काम गरिएको देखिन्छ,’ जोशीले भने, ‘त्यसलाई व्यवस्थित गर्न औपचारिक संस्था स्थापनाको आवश्यकता देखिएको हो ।’ यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।