गृहद्धारा विप्लवका नेता तथा कार्यकर्ताको रिहा गर्न सर्कुलर

२० फागुन, काठमाण्डौ । आज सरकार र विप्लव समूहबीच ३ बुंदे सहमति भएपछि गृह मन्त्रालयले हिरासतमा रहेका विप्लप समूहका नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको छ ।

मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पु¥याएर छाड्न र अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय गर्न निर्देशन दिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भने, ‘प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पु¥याएर छाड्न आजै निर्देशन भइसकेको छ, अन्यको हकमा सहजीकरण हुन्छ ।’

मन्त्रालयको निर्देशनपछि काभ्रेमा हिरासतमा रहेका विप्लव समूहका तेस्रो वरियताका नेता धमेन्द्र बास्तोलालाई शुक्रबार रिहा गर्ने तयारी छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी भुपेन्द्रबहादुर खत्रीका अनुसार बास्तोलालाई रिहा गर्ने प्रक्रिया सुरु भएको छ । ‘केही कागज तयार गर्न आज ढिला भयो, भोलि दिउंसोसम्ममा उहां छुट्नुहुन्छ’ उनले भने ।

चितवनका एसपी ओम अधिकारीले विप्लवका दाइ चन्द्रबहादुर चन्द वीरजंगलाई रिहा गर्ने प्रक्रिया अघि बढाउन नवलपरासीबाट मुद्दाको विवरण मगाएको बताए ।
केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरका अनुसार २७ फागुन २०७५ मा प्रतिबन्ध लागेयता विप्लव समूहका २०९८ जना नेता कार्यकर्ता पक्राउ परेका थिए । तीमध्ये १२६ जना पुर्पक्षका लागि थुनामा छन् भने १८ जना अझै हिरासतमै छन् ।

गृह मन्त्रालयले विप्लव समूहका नेता कार्यकर्तालाई लगाएको मुद्दाको पूर्ण विवरण ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयसंग मागेको छ ।