२० फागुन, चितवन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिन कांग्रेसको नैतिकताले नदिने बताएका छन् ।
उनले प्रचण्ड–माधव समूहलाई साथ दिन भने कांग्रेस सकारात्मक रहेको बताए । आज बिहान चितवनमा पत्रकारहरुसंग कुरा गर्दै पौडेलले ओलीबाहेक अरुसंग समझदारी गरेर अहिलेको संकटलाई निराकरण गर्नुपर्ने धारणा राखे ।
प्रचण्ड–माधव समूहलाई साथ दिन कांग्रेस तयार भएको हो भन्ने प्रश्नमा पौडेलले भने, ‘त्यसबारे पोजेटिभ हुन सकिन्छ । त्यसबारे छलफल हुन्छ ।’
ओलीले संविधान र व्यवस्थालाई जोखिममा पारेको बताउंदै पौडेलले भने, ‘यत्रो जोखिममा पार्ने व्यक्तिलाई अहिले सपोर्ट गर्न कांग्रेसको नैतिकताले दिंदैन ।’
प्रचण्ड–माधव समूहले ओलीविरुद्ध पेश गरेको अविश्वासको प्रस्तावको सन्दर्भ सकिएको बताउँदै पौडेलले अब नयां प्रस्ताव तयार हुने बताए ।
कांग्रेससहितको सरकार बन्दा छिमेकी मुलुकलाई कम्फर्टेबल हुने भन्ने प्रचण्डको भनाइबारे प्रतिक्रिया दिंदै पौडेलले अरुलाई नभइ नेपालको सिस्टमलाई ‘कम्फर्टेबल’ हुनुपर्ने बताए ।