नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको वार्ता टोलीबीच औपचारिक वार्ता सुरु

१९ फागुन, काठमाण्डौ । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको वार्ता टोलीबीच आज बुधबार काठमाडौमा औपचारिक वार्ता सुरु भएको छ ।

सरकारसंग वार्ता गर्न नेकपा विप्लव समूहले पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदय चलाउने दीपकलाई अघि सारेको छ । विप्लवले हिजो मंगलबार एक विज्ञप्तिमार्फत प्रवक्ता प्रकाण्डको नेतृत्वमा केन्द्रीय सदस्य दीपक चलाउने सदस्य रहेको दुई सदस्यीय वार्ता टोली गठन गरेको जानकारी दिएका थिए ।

नेकपा विप्लव पक्षसंग वार्ता गर्न सरकारी पक्षले गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराईको नाम सार्वजनिक गरेसँगै विप्लव पक्षले पनि टोली घोषणा गरेको हो । हिजो मंगलबार दिउंसो सरकारका प्रवक्ता पार्वत गुरुङले पत्रकार सम्मेलन गरी विप्लव पक्षसंग वार्ता गर्नका लागि वार्ता टोलीको नाम सार्वजनिक गरेका
थिए ।

केपी ओली नेतृत्वको सरकारले आपराधिक समूह रहेको ठहर गर्दै २ वर्षअघि प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको दललाई अहिले सरकार आफैले पहल थालेर वार्तामा बोलाएको हो ।