अमेरिकाका ६६ लाख नागरिकले बेरोजगार सुबिधा दिन माग गरे

कदर समाचार
एजेन्सी ।
२१ चैत्र, काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन सुरु भएयता ६६ लाख अमेरिकी नागरिकले बेरोजगार सुविधा मागेका छन् । बेरोजगार सुविधा लिनेको संख्या लगातार दोश्रो सातामा पनि बढेपछि अमेरिकी इतिहासमै पहिलो पटक यति धेरै मानिसहरूले बेरोजगार भएका हुन् । गत साता यो आँकडा ३३ लाख थियो भने केही साता अगाडिसम्म यो संख्या २ लाख मात्रै थियो ।
पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि अमेरिकामा आर्थिक संकट बढ्दै गएको छ ।
विश्वका कुल कोरोना संक्रमित मध्ये झण्डै एक चौथाइ संक्रमित अमेरिकामा रहेका छन् । त्यहाँ हालसम्म दुई लाख ४४ हजार मानिसहरूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ६ हजार बढीको ज्यान गइसकेको छ । उसले आगामी दुई सातामा यो संख्या अझ बढ्ने अनुमान यसै साता सार्वजनिक गरिसकेको छ । बैंक अफ अमेरिकाका विश्लेषकहरूले अमेरिकाले इतिहासकै गहिरो आर्थिक संकट भोग्न सक्ने चेतावनी दिएका छन् । उनीहरूले अमेरिकामा बेरोजगारी दर १५ प्रतिशत भन्दा माथि जाने प्रक्षेपण गरेका छन् ।