रेसिङ कार दुर्घटना हुंदा एक जनाको मृत्यु

१७ फागुन, काठमाण्डौ । मनोरञ्जनात्मक भनेर खेलाइएको कार रेसिङमा दुर्घटना हुंदा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं बौद्ध तिनचुलीका १६ वर्षीय तेञ्जी सेञ्जिङ छन् ।

दुर्घटनामा किशोरको मृत्यु भएको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख भुपेन्द्रबहादुर खत्री पनि धुलिखेल नगरपालिकाको बिकट क्षेत्रमा रहेको अल्टिमेट हिमालय मोटरल्याण्डमा पुगेका थिए ।

‘घटना अस्ति शनिबारको हो, उद्दार गरेर उपचारका लागि धुलिखेल अस्पताल लगिएको रहेछ । आगोमा जलेको भएर कीर्तिपुर अस्पताल रिफर भयो, त्यहीं उपचारका क्रममा मृत्यु भएको पाइएको छ ।

मृतकका मामा घिङ ग्याम्जोका अनुसार कक्षा ९ मा पढ्दै आएका उनी शनिबार साथीहरुसंग धुलिखेल गएका थिए । ‘त्यहां कार कुदाउंदै गर्दा स्टलमा ठोक्किएछ, त्यसपछि आगलागी हुंदा घटना भएको भनिएको छ’, कम्पनीले खेल खेलाउंदा व्यक्तिगत सुरक्षाका लागि पालना गर्नुपर्ने सर्तहरु नमान्दा यस्तो भएको हो ।

उनले घटनामा सञ्चालकको लापरबाही देखिएको बताउंदै कानुन बमोजिम कारबाहीको मागसमेत गरे । कम्पनीका सञ्चालकहरुले भने प्रहरी सोधपुछका क्रममा कार रोक्नुपर्ने ठाउंमा संकेत गर्दागर्दै पनि मृतकले नरोकेकाले घटना भएको दाबी गरेका छन् । ‘नरोकिएपछि स्टलमा गएर ठोक्कियो, त्यहां कारको पेट्रोल लिकेज भएर आगलागी भएको हो’, सञ्चालकको भनाइ उधृत गर्दै एक प्रहरी अधिकारीले भने ।

परिवारले भने सञ्चालकको भनाइलाई विश्वास गरेको छैन । मामा ग्याम्जो भन्छन्, ‘मैले गाडी पनि हेरेको छु, त्यहां पेट्रोलको ट्यांकीमा केही भएको छैन । बरु स्टलमा पेट्रोल भण्डारण गरेर राखिएको हुनसक्ने र त्यही कारण आगजनी भएको अनुमान आफूहरुले गरेको उनी सुनाउंछन् ।

मोटरल्याण्डलाई राष्ट्रिय खेलकुद परिषद् अन्तर्गतको अटो मोबाइल एसोसिएसनले सञ्चालनको अनुमति दिएको हो । तर, एसोसिएसनले खेलको सुरक्षा मापदण्डबारे अनुगमन नगरेकाले पनि घटना भएको परिवारका सदस्यको आरोप छ ।

‘खेल खेलाउने बेला जम्मा दुई जना इञ्जिनियर रहेछन्, तत्कालै फायर एस्टिङ्ग्वीसर लिएर उद्दार गरेको भए पनि अप्रिय घटना नहुन सक्थ्यो’, ग्याम्जोले भने, ‘तर, कोही उद्दार गर्न गएनन्, ८० प्रतिशत जलिसकेपछि बाबु आफैं कसरी निस्किएछ र अस्पताल पु¥याइयो ।’

काभ्रेका एसपी खत्रीले भने घटनाको विषयमा प्रहरी जांच जारी रहेको बताए । कम्पनी १५ मिनेट कार सञ्चालनका लागि प्रतिव्यक्ति ७५० रुपैयां लिने गरेको पाइएको छ । कम्पनीले आफूलाई नेपालको पहिलो कार रेसिङ खेलाउने स्थानको रुपमा दाबी गर्दै आएको छ ।

अनलाइनखबरबाट