प्रधानमन्त्री ओलीले आफूले गरेको गल्तीप्रति आत्मालोचनासहित पदबाट राजीनामा दिनुपर्ने

नेता एवं पूर्वमन्त्री योगेश भट्टराई

१७ फागुन, हेटौंडा । प्रेस संगठन नेपाल बागमती प्रदेशको हेटौंडामा आज आयोजित दोस्रो भेलालाई सम्बोधन गर्ने क्रममा नेकपा प्रचण्ड–माधव समूहका नेता एवं पूर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

भट्टराईले प्रधानमन्त्री ओलीले आफूले गरेको गल्तीप्रति आत्मालोचनासहित पदबाट राजीनामा दिनुपर्ने र उनले त्यसो गर्नेमा आफू विश्वस्त रहेको बताए । प्रधानमन्त्री ओलीको राजीनामा पछि नयां सरकार गठनको प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले गरेको असंवैधानिक कदमको विरुद्धमा अदालतले फैसला दिएसंगै उनी निराश बनेको उनको भनाइ
छ ।

नेता भट्टराईले प्रधानमन्त्री ओलीले संविधान मिचेर ‘कू’ गर्दा समेत केही पत्रकारले त्यसको विरोध गर्नुभन्दा पनि ताली पिट्दै समर्थन गर्नु दुर्भाग्य भएको बताए ।

उनले देशमा भएको आमुल परिवर्तनमा प्रेसको भूमिका अतुलनीय रहेको र समग्र प्रेस जगतप्रतिको स्वतन्त्रता कायम राख्न आफ्नो समूह कटिबद्ध रहेको समेत बताए ।