मुलुक फेरि मध्यावधि चुनावमा जानसक्छ

ऊर्जामन्त्री, टोपबहादुर रायमाझी

१४ फागुन, कमाठमाण्डौ । नेकपा केपी ओली समूहका स्थायी समिति सदस्य तथा नेपाल सरकारका ऊर्जामन्त्रीले टोपबहादुर रायमाझीले मुलुक फेरि मध्यावधि चुनावमा जानसक्ने बताएका छन् । मन्त्री रायमाझीले अहिले सरकार गठनका चार विकल्प भएको बताए ।

नयां सरकार बन्न नसके मुलुक मध्यावधितिर जाने सम्भावना धेरै रहेको उनले बताए । नेकपा ओली समूह निकट विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै मन्त्री रायमाझीले भने, ‘सके सरकार बनाउने, कसैको सरकार बनेन भने फेरि मध्यावधि चुनावमा जाने सम्भावना छ । यो परिस्थिति एक नम्बरमा छ ।

ओलीले नेतृत्व गरेको पार्टी संसदको सामना गर्न तयार रहेको भन्दै उनले चार विकल्प सुनाए ।

पहिलो ः प्रचण्ड–माधव समूहले अरु पार्टीको नेतृत्वमा सरकार बनाउने ।

कांग्रेसतर्फ संकेत गर्दै उनले अमुक पार्टीले प्रधानमन्त्री बन्न स्वीकार गरे नयाँ सरकार बन्न सक्ने बताए । रायमाझीले भने, ‘त्यो पनि उहाँहरु बन्ने होइन, अरु कसैले मानिदिएको खण्डमा ।’

दोस्रो ः ओली समूह र अर्को पार्टी मिलेर सरकार बनाउने । उनले ओली र कांग्रेस मिलेर सरकार बन्न सक्ने पनि बताए । कांग्रेसको नाम नलिएका उनले भने, ‘त्यो जब्बर सम्भावना छ ।’

तेस्रो ः नेकपा एकीकृत भएर वर्तमान सरकारलाई निरन्तरता दिने ।

कानुनी रुपमा पार्टी एउटै रहेको भन्दै प्रचण्ड–माधव समूह घर फर्किए ओली नेतृत्वको यही सरकारले निरन्तरता पाउने सम्भावना रहेको बताए । उनले अघि भने, ‘साथीहरु अलि पर गइसकेको हुनाले मुख्य नेताहरुले मान्नु हुन्न कि भन्ने छ । अरु घर फर्किन तयार हुनुहुन्छ ।’

चौथो ः अविश्वासको प्रस्ताव फेल हुने र ओली सरकारले नै निरन्तरता पाउने ।