महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ आज बांडफांड

आवेदकमध्ये गोलाप्रथाबाट ३७ हजार ५०० जनाले १०–१० कित्ता हात पारे

१४ फागुन, काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ आज बांडफांड भएको छ ।

सीमित संख्यामा निष्काशन भएको आईपीओमा उच्च आवेदनका कारण महिलाको आईपीओ साढे २ प्रतिशत आवेदकले मात्रै पाएका हुन् ।

१५ लाख ३६ हजार ६८२ सदर आवेदकमध्ये गोलाप्रथाबाट ३७ हजार ५०० जनाले १०–१० कित्ता हात पारेका छन् ।

यसैगरी लघुवित्तका १५३ जना कर्मचारीलाई ५ हजार कित्ता शेयर बाँडफाँड गरिएको छ भने सामुहिक लगानी कोषका लागि २० हजार कित्ता बांडफांड गरिएको लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ ।

आज बिहान ८ बजे धितोपत्र निष्काशन तथा बांडफांड निर्देशिका २०७४ बमोजिम बांडफांड भएको हो ।

बिक्री प्रबन्धकका अनुसार लघुवित्तको आईपीओमा कुल १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएका थिए । जसमध्ये ३ हजार ३५३ आवेदकको आवेदन रद्ध गरिएको छ ।

लघुवित्तको आईपीओ भरेका आवेदकमध्ये १५ लाख २ हजार ५३५ जनाको हात खाली भएको छ । जुन कुल आवेदकको साढे ९७ प्रतिशतभन्दा बढी हो ।

आईपीओमा कुल २ करोड ३७ लाख ४७ हजार ५९० कित्ता शेयरको माग भएको थियो। जसमध्ये ५४ हजार ९६० कित्ता दोहोरो आवेदनका कारण रद्ध गरिएको जनाइएको छ। २ करोड ३६ लाख ९२ हजार ६३० कित्ताको माग सदर भएको थियो ।

लघुवित्तले प्रतिशेयर मूल्य १०० रुपैयाँ अंकित दरका ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो। जसमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर संस्थाका कर्मचारी तथा ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामुहिक लगानीकोषहरुका लागि छुट्याइएका थियो। बाँकी ३ लाख ७५ हजार कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

लघुवित्तले माघ ३० गतेदेखि फागुन ५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको गरेको थियो ।

लगानीकर्ताहरुले आईपीओको नतिजा हेर्न आईपीओ जारी गर्ने कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट र सिडीएससीको मेरो शेयर मार्फत मात्र नतिजा हेर्न सक्नेछन् ।