Breaking News

राजनीतिको केन्द्रमा फेरि देउवा : चिनियां र भारतीय राजदूतको छुट्टाछुट्टै भेट

१४ फागुन, काठमाण्डौ । सर्वोच्व अदालतले संसद पुनस्थापना गरेपछि बदलिएको नेपाली राजनीतिले सत्ता परिवर्तनको चटारो चलिरहेको बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपालका लागि चिनियां र भारतीय राजदूतले भेटेका छन् ।

स्रोतका अनुसार हिजो बिहीबार अपरान्ह फरक–फरक समयमा चिनियां राजदूत होउ यान्छी र भारतीय राजदूत विनयमोहन क्वात्राले भेटवार्ता गरेका हुन् ।

देउवा निवास बुढानिलकण्ठ पुगेर उनीहरूले भेटवार्ता गरे पनि के कुराकानी भयो भन्नेबारे खुलेको छैन ।

देउवा निवासमा बिहीबार पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक थियो । उक्त बैठक सकिएलगत्तै राजदूतहरूले फरक–फरक समयमा देउवालाई भेटेर कुराकानी गरेका छन् ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि राजनीतिको केन्द्रमा फेरि देउवा आइपुगेका छन् । नेकपाका दुबै पक्षले देउवासंग भावी सत्ता समिकरणमा सहयोग मागेका छन् ।

प्रचण्ड–नेपाल समूहका दुबै जना अध्यक्षले बुधबार बुढानिलकण्ठमा पुगेरै देउवासँग मिलेर जाने प्रस्ताव गरेका थिए ।

नेपालमा सरकार परिवर्तन हुन लागेका बेला दुई छिमेकी मुलुकका दूतहरूले देउवालाई भेट्नु अर्थपूर्ण छ ।