१४ फागुन, म्याग्दी । प्रतिबन्धित नेकपा (विप्लव) समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर) म्याग्दीबाट पक्राउ परेका छन् ।
म्याग्दीको मालिका गाउंपालिका–२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले हिजो सांझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले राज्यविरुद्धको अपराधमा संलग्न भएको अभियोगमा पुनलाई पक्राउ गरिएको बताए । ‘दरवाङ क्षेत्रबाट पक्राउ गरिएको हो । उनलाई यसअघि विभिन्न घटनामा संलग्न भई फरारको सूचीमा पनि हुनुहुन्थ्यो ।’
पुन एनसेलको टावर, डोजरलगायत निर्माण उपकरणमा आगजनी, चन्दा असुलीलगायतका गतिविधिमा संलग्न भएको प्रहरीको आरोप छ ।
पुन म्याग्दीको मालिका गाउंपालिका–३ का बासिन्दा हुन् । उनी पछिल्लो समय चन्द समूहको मुस्ताङ जिल्ला इञ्चार्ज रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
चन्द समूह र सरकारबीच वार्ताको चर्चा चलिरहेका समयमा पुन पक्राउ परेका हुन् ।