प्राथमिक सेयर (आइपिओ) को नतिजा तीन वटा वेबसाइटबाट मात्रै हेर्न पाइने

१३ फागुन, काठमाण्डौ । अब प्राथमिक सेयर (आइपिओ) को नतिजा तीन वटा वेबसाइटबाट मात्रै हेर्न पाइने भएको छ ।

यसअघिसम्म विभिन्न सञ्चार माध्यमलाई समेत आइपिओको नतिजा बांडिंदै आएकोमा अब भने यस्तो कार्य बन्द गर्न निर्देशन दिइएको सिडिएस एण्ड क्लियरिङका सिइओ पूर्णप्रसाद आचार्यले जानकारी दिए ।

‘लगानीकर्ताको डिम्याट नम्वर र उनीहरुको विवरण सुरक्षित राख्नुपर्ने बिनियमावलीअनुसार संचार माध्यमलाई व्यक्तिगत विवरण नदिन हामीले सबै बिक्री प्रवन्धकलाई निर्देशन दिएका छौं ।

भोलि शुक्रबार महिला लघुवित्तको आइपिओ बांडफांड हुंदै छ । सो कम्पनीको आइपिओ पनि ३ वटा वेबसाइटबाट मात्रै हेर्न पाइने छ ।

सम्वद्ध कम्पनीको वेबसाइट, बिक्री प्रवन्धकको वेबसाइट र सिडिएसको वेबसाइट मेरो सेयरमार्फत मात्रै अब आइपिओ हेर्न पाइने छ ।

लगानीकर्ताको विवरण चुहावट भई दुरुपयोग हुन सक्ने संभावित जोखिमलाई न्यूनीकरण गर्न यसले मद्दत पुग्ने आचार्यले बताए ।

आइपिओको नतिजा डिम्याट खाता नम्बरका आधारबाट हेरिन्छ । यसरी डिम्याट खाता नम्बरसहितका विवरण संचारमाध्यमलाई पनि दिएको भन्दै लगानीकर्ताले आपत्ति जनाउंदै आएका थिए ।