हामीलाई जनताले कांग्रेसलाई सरकार बनाउने म्यान्डेड दिएको छैन । संसदीय प्रणाली जोगाउनु पर्छ पनि

कांग्रेस वरिष्ठ नेता, रामचन्द्र पौडेल

१२ फागुन, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा संसद विघटन गरे देखि नै त्यसको बिरोधमा उत्रिएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संसद पुनस्थापनाको पक्षमा उभिदै सभापति शेरबहादुर देउवाको प्रतिवाद समेत गर्दै आएका थिए ।

हिजो सर्वाेच्च अदालतले संसद पुनस्थापनाको पक्षमा फैसला गरेपछि वरिष्ठ नेता पौडेलले देशलाई संकटबाट जोगिएको बताएका छन् । अब पुनस्थापित संसदमा कांग्रेसको भूमिका के हुन्छ ? सरकारमा सहभागी हुन्छ कि हुन्न ?
यसै सन्दर्भमा कांग्रेस वरिष्ठ नेता पौडेलसंग गरिएको कुराकानीको सम्पादित अंश : यहां सभार गर्न गर्दछौं ।

संसद पुनस्थापनालाई कसरी हेर्नु भएको छ ?

सर्वाेच्च अदालतको संवैधानिक इजलासले संविधानको भावना र मर्म अनुरुप फैसला गरेर देशलाई ठूलो संकटबाट बचाएको छ । अनिश्चय र अस्थिरताबाट बचाएको छ । मैले त्यही रुपमा बुझेको छु ।

संसद पुनर्स्थापना भएपछि अब नयाँ सरकार बन्ने होला, कांग्रेसको भूमिका के हुन्छ ?

भोलि पार्टीको बैठक बस्दैछ, त्यहां यो विषयमा छलफल गर्छौं । हामीलाई जनताले कांग्रेसलाई सरकार बनाउने म्यान्डेड दिएको छैन । संसदीय प्रणाली जोगाउनु पनि छ ।

(नेकपा) का ९० जना सांसदले एकथरि प्रस्ताव गरेका छन् । बांकी ८० जना प्रधानमन्त्री केपी शर्मा ओलीसंग छन् । यस्तो अवस्थामा कांग्रेसले आफ्नो भूमिका सही ढंगले निर्वाह गर्नुपर्छ । हामीले सत्ताको लालच देखाउनुहुन्न ।

लोकतन्त्र कसरी स्थिर हुन्छ ? संसदीय प्रणाली कसरी राम्रोसंग चल्छ ? भनेर हेर्नुपर्छ । कता लागेर कुर्सी पाउंछौ भन्ने नहेरौं । दुईमध्ये कसले ठीक ढंगले चुनाव गराउँछन् ? कसले राम्रोसँग देश चलाउँछन् ? यो समयमा चुनाव गराउँछु भन्दा को सहमत हुन्छन् ? त्यसलाई फ्लोरबाट सपोर्ट गर्न पनि सकिन्छ ।

हामीले त चुनाव जितेर आएपछि आफ्नो नेतृत्वमा बहुमतको सरकार बनाउनुपर्छ । नभए विकृति र विसंगति हुन्छ । त्यसमा फस्न हुंदैन भन्ने लाग्छ ।

त्यो भनेको प्रचण्ड–माधव समूहलाई समर्थन गर्ने हो कि ?

हामी अहिले यसलाई या त्यसलाई भन्दैनौं । तर हामी संसदीय प्रणालीको पक्षमा हौं । संसदीय प्रकृयालाई अगाडि बढाएर चुनावमा पु¥याउन कसले राम्रो योजना प्रस्तुत गर्छ, हाम्रो सहयोग उत्तैपट्टी हुन्छ । यति भन्दाभन्दै पनि ओलीले जुन कदम चाले, जस्तो क्रियाकलाप देखिए, अहिले उनलाई विश्वास गर्ने अवस्था छैन ।

यो भनेको त प्रचण्ड–माधव समूहलाई सहयोग गर्ने भयो होइन र ?

उहांहरुसंग पनि कुरा गर्छौं, उहांको योजना र कार्यक्रम हेर्छौं । उहांहरुले कसरी अगाडि लानुहुन्छ ? कहिले चुनाव गराउनुहुन्छ ? त्यो सबै कुरा हेरेर मात्र निर्णय गर्छौं ।

अल्पमतको सरकार चलाउन दिने सम्भावना पनि छ ?

हामी संसदीय प्रणालीको पक्षमा छौं । बांकी कुरा बैठकमै छलफल हुन्छ ।

कांग्रेसले नै सरकारको नेतृत्व गर्ने अवसर पाए कसलाई प्रधानमन्त्री बनाउंछ ?

अहिले हामीले त्यतातिर सोचेका छैनौं, त्यसैले कसलाई प्रधानमन्त्री बनाउने भन्ने नै छैन । सरकारमा जाने नजाने निधो पनि छैन । त्यसैले अहिले त्यो कुरा भन्न सकिन्न ।

पार्टीमा आन्तरिक छलफल गर्छौं । आन्तरिक छलफलमा आउने कुरा अहिले नभनिहालौं ।

तर, सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने चर्चा छ नि ?

उहां चुनावको तयारीमा पनि हुनुहुन्थ्यो नि । उहां त यस्तै हो ।

तर कांग्रेसकै नेतृत्वमा सरकार बन्ने अवस्था आयो भने असंवैधानिक रुपमा हुन लागेको चुनावको तयारी गर्नुभएका देउवा प्रधानमन्त्री बन्न नैतिक रुपमा मिल्छ ?

मैले अघि नै भनिसके कि पार्टीमा सरकारमा जाने नजाने बिषयमा छलफल भएकै छैन । बांकी रह्यो देउवाजीमाथिको आरोप । जनतामा गलतफहमी छ भने त्यसलाई हटाउने काम पनि उहांले नै गर्नुहुन्छ ।