केही बेरमा प्रदेश १ को प्रदेश सभामा मुख्मन्त्री बिरुद्धको अविश्वासको प्रस्ताव पेश हुंदै

९ फागुन, काठमाण्डौ । आज बस्ने प्रदेश १ को प्रदेश सभामा अविश्वासको प्रस्ताव पेश हुने भएको छ । प्रदेश सचिवालयले जारी गरेको कार्यसूची अनुसार आज मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वसाको प्रस्तावमाथि छलफल हुनेछ ।

यससअघि आजको संसद् बैठक रोक्न सभामुख प्रदीपकुमार भण्डारीलाई मुख्य मन्त्री राईले दबाब दिएका छन् । आजै बिहान भएको छलफलमा मुख्यमन्त्री राईले यस्तो दबाब दिएका थिए । तर सभामुखले भने अस्वीकार गर्दै कार्यसूचीसमेत प्रकाशन गरेका छन् ।

यता मुख्यमन्त्री र उनी पक्षका सांसदको बैठक मुख्यमन्त्री कार्यालयमा जारी छ । बैठकमा सदन वहिष्कार गर्ने कि, बैठक अवरोध गर्ने ? भन्ने विषयमा छलफल भइरहेको छ । यद्यपी कुनै निष्कर्षमा पुगेका छैनन् । बैठक जारी छ ।
मुख्यमन्त्रीले बैठक रोक्न र अविश्वास प्रस्ताव खारेज गर्न सभामुखलाई दिएको दबाब नमानेपछि सरकारले यस्तो विकल्पको खोजी गरेको हो ।

सभामुखज्यूलाई सूचना टांसेर आजको बैठक स्थगन गर्न मुख्य मन्त्रीले आग्रह गरे पनि सभामुखले आज अविश्वास टेबल हुन्छ म रोक्न सक्दिनँ भनेका थिए ।

मुख्यमन्त्री पक्षले प्रदेशसभा अवरोध गर्दै आएको छ । यसलाई विपक्षी दलहरुले सरकारको आयु लम्ब्याउने प्रयास भएको बताएका छन् ।

अहिले दुई बजेका लागि प्रदेशसभाको बैठक आह्वान भएको छ । यसअघि माघ २५ को बैठकमा अविश्वास प्रस्ताव टेबल हुने कार्यसूची थियो । सरकारी पक्षका सांसदको अवरोध भएपछि सभामुखले १४ दिन संसद् स्थगन गरेका थिए । त्यसयता मुख्यमन्त्रीले अविश्वास प्रस्ताव खारेज गर्न सभामुखलाई दबाब दिनेदेखि नेकपाको प्रचण्ड नेपाल पक्षलाई प्रस्ताव फिर्ता लिन अनुनय गरेका थिए ।

तर, सभामुख र अर्को पक्षले मुख्यमन्त्रीको प्रस्ताव नमानेपछि बैठकमा सरकारी पक्षले अवरोध गर्दै आएको छ ।