म्यानमार सेनाले प्रदर्शनमा सहभागी एक जना महिलाको गोलीबाट मृत्यु

एजेन्सी

म्यानमार सेनाले कूमार्फत् सत्ता हत्याएपछि भएको प्रदर्शनमा सहभागी एक जना महिलाको सुरक्षाकर्मीको गोलीबाट मृत्यु भएको छ।

समाचार संस्था एएफपीका अनुसार २० वर्षीया ती महिलाको उपचारका क्रममा शुक्रबार मृत्यु भएको अस्पतालले जनाएको छ।

फेब्रुअरी १ मा सेनाले सत्ता लिएपछि प्रदर्शनकारीको मृत्यु भएको यो पहिलो पटक हो।  ती महिलालाई अघिल्लो साता प्रदर्शनका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेको थियो।

जननिर्वाचित सरकारलाई अपदस्त गरेर सेनाले सत्ता हत्याएपछि म्यानमारमा अचेल दिनदिनैजसो प्रदर्शनहरू भइरहेका छन्।

गत नोभेम्बरमा भएको चुनावमा धाँधली भएको भन्दै सेनाले नेशनल लिग फर डेमोक्रेसीको सरकार हटाएर सत्ता आफ्नो हातमा लिएको हो।

ncell in

 

सेनाले एक वर्षभित्र चुनाव गर्ने भनेको छ। अन्तर्राष्ट्रिय समुदाय र देशभित्रकै शक्तिहरूले सैनिक कूको कडा विरोध गरेपछि सेनालाई दबाब परिरहेको छ।