Breaking News

प्रदेश १ मा ओली पक्षबाट प्रचण्डमाधव पक्षलाई अविश्वासको प्रस्ताव फिर्ता गर्न आग्रह

६ फागुन, बिराटनगर । नेकपा ओली समूहद्धारा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव फिर्ता लिन प्रचण्ड–माधव समूहलाई आग्रह गरेको छ । विकल्पमा निर्वाचन आयोग र नेपाली कांग्रेसको निर्णय पर्खिन प्रस्ताव गरेको थियो । तर प्रचण्ड–माधव समूहका नेताहरुले तीन वटै प्रस्ताव अस्वीकार गर्दै प्रदेशसभाको प्रक्रिया अगाडि बढाउनुपर्ने बताएपछि प्रदेशसभा भंग हुनसक्ने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभा विघटनसंगै विभाजित नेकपाको प्रचण्ड–माधव समूहले ओली पक्षमा रहेका मुख्यमन्त्री राईविरुद्ध पुस १२ मै अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

त्यसबेला मुख्यमन्त्री राईले आरामले अविश्वासको प्रस्ताव सामना गर्छु भनेका थिए । ७ माघमा प्रदेशसभा अधिवेशन सुरु भयो । तर प्रमुख विपक्षी कांग्रेसले समर्थन नगर्ने र आफ्नो एकल बहुमत नपुग्ने अवस्था आएपछि सत्तारुढ पक्षले नै प्रदेशसभा अवरुद्ध गरेको छ । अर्को बैठक ९ फागुनमा बोलाइएको छ ।

त्यसको तीन दिन अघि आज बिहीबार नेकपाको ओली र प्रचण्ड–माधव समूहका नेताहरुबीच छलफल भएको छ । छलफलमा ओली पक्षबाट आन्तरिम मालिलामन्त्री हिक्मत कार्की र सांसद विमल कार्की तथा प्रचण्ड–नेपाल पक्षबाट इन्द्र आङ्बो, जीवन घिमिरे र लक्षण तिवारी सहभागी थिए ।

छलफलमा ओली पक्षका नेताहरुले अविश्वासको प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् । ‘पार्टी फुटिसकेको छैन, त्यसैले अविश्वासको प्रस्ताव फिर्ता लिऔं, एकअर्कालाई गरेको कारबाही पनि फिर्ता लिऔं भन्ने उहांहरुको प्रस्ताव थियो’ आङ्बोले भने, ‘हामीले यो प्रस्ताव छलफल गर्न पनि उपयुक्त छैन भन्यौं ।

ओली पक्षका नेताहरुले अविश्वासको प्रस्ताव फिर्ता नलिए भए (संसद विघटनको मुद्दामा) अदालत र (पार्टीको आधिकारिता विवादमा) निर्वाचन आयोगको निर्णय कुरौं न भनेका थिए । तर प्रचण्ड–माधव पक्षका नेताहरुले प्रदेशसभामा प्रवेश गरिरकेको अविश्वासको प्रस्तावमा किन अरुको निर्णय कुर्नु भनेका छन् ।

कांग्रेसले पनि निर्णय गरेको छैन, किन हतार गर्ने भन्ने ओली पक्षका नेताहरुको धारणा थियो । तर हामीले कांग्रेसले उपयुक्त समयमा आफ्नो निर्णय गर्ला, संविधानसम्वत रुपमा आएको अविश्वासको प्रस्ताव प्रदेशसभाको पनि सम्पत्ति भइसक्यो । यसलाई अगाडि बढाऔं भन्यौं’ आङ्बोले भने ।

छलफलका क्रममा प्रचण्ड–माधव पक्षका नेताहरुले प्रदेशसभा भंग हुनसक्ने मुख्यमन्त्री राईको अभिव्यक्तिबारे समेत प्रश्न उठाएका छन् । अविश्वासको प्रस्तावमा प्रदेशसभाले दिने निर्णय मान्न आफूहरु तयार रहेको भन्दै उनीहरुले ओली पक्षका नेताहरुलाई सोधेका छन्, ‘तपाईंहरु प्रदेशसभाको अधिवेशन फेस गर्न तयार हो कि होइन ? संविधान सम्वत रुपमा आएको अविश्वासको प्रस्तावमा प्रदेशसभाले गर्ने निर्णय मान्न तयार हो कि होइन ?

जवाफमा ओली पक्षका नेताहरुले भने असहज परिस्थिति आए विघटनको बाटो तयार हुनसक्ने बताएको प्रचण्ड–माधव समूहका नेता आङ्बोले जानकारी दिएका छन् ।