५ फागुन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । पार्टीको १४ औं महाधिवेशन र आगामी कार्यक्रमबारे छलफल गरिने बताइएको छ ।
दिउंसो दुई बजेपछि पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा आगामी १४ औं महाधिवेशनको कार्यतालिका, संसद विघटन विरुद्धको आन्दोलनको समीक्षा र आगामी योजनाबारे छलफल हुने बताइएको छ ।
१३ औं महाधिवेशनबाट निर्वाचित कांग्रेसको वर्तमान कार्य समितिको कार्यकाल २०७६ साल फागुनमा समाप्त भएको थियो । विधानमा भएको व्यवस्था अनुसार एक वर्ष कार्यकाल थपिएको थियो । थपिएको कार्यकाल फागुन २० गते सकिदैछ । त्यसपछि पनि कांग्रेसले संवैधानिक सुविधाअनुसार ६ महिना अवधि थप्न सक्छ । त्यो भनेको कांग्रेसको आयु २०७८ भदौसम्म कायम रहन्छ ।
भदौमा पनि महाधिवेशन हुन नसके कांग्रेसको वैधानिकता सकिन्छ । त्यसैले पार्टी सभापति शेरबहादुर देउवाले भदौमा महाधिवेशन गर्ने प्रस्ताव बैठकमा पेश गर्ने तयारी गरेका छन् ।
क्रियाशील सदस्यता विवाद लगायतका कारण कांग्रेसले पूर्वनिर्धारित मितिमा महाधिवेशन गर्न सकेको छैन ।
यसैबीच संसद विघटनको विरोधमा कांग्रेसले पनि ठूला सभा गरेर विरोधसभा गर्ने तयारी गरेको छ । यसअघि कांग्रेस र उसका भ्रातृ संगठनहरुले गाउं तहसम्म विरोधका कार्यक्रम गरिसकेका छन् ।