४ फागुन, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू शान्तिपूर्ण राजनीतिमै रहने र अतिवादमा नजाने बताएका छन् ।
चितवनको भरतपुरमा बन्दै गरेको सिटी हलको स्थलगत अनुगमनपछि आयोजित पत्रकारसंगको अन्तरक्रिया कार्यक्रममा प्रचण्डले सो धारणा राखेका हुन् ।
असंवैधानिक र अलोतान्त्रिक ढंगले चुनाव गराए देश अराजकताको भूमरीमा फस्ने र अतिवाद फैलिने उनले जिकीर गरे । प्रचण्ड त्यसमा जाँंदैन, म शान्तिपूर्ण राजनीतिमा रहन्छु अतिवादमा जान्नँ ।
संविधान भत्काएर हुने चुनाव अलोतान्त्रिक, असंवैधानिक हुने भएकाले त्यसले विभिन्न खालका अतिवाद ल्याउनेको उनको दावी छ । चुनाव भए सहभागी हुनुहुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले ठोस जवाफ दिएनन् । संसद पुनःस्थापना हुनेमा आफूहरु पूर्ण विश्वस्त रहेको उनले बताए ।
अदालतले संसद पुनःस्थापना गरे प्रधानमन्त्रीमा आफ्नो दावी नरहने बताउंदै अध्यक्ष प्रचण्डले प्रतिपक्षीको मागलाई प्राथमिकतामा राखिने बताए । नेपाली कांग्रेस र जसपासंग मिलेर केही समयपछि नै संयुक्त आन्दोलन हुने उनको भनाइ छ ।
संसद विघटनको विरोधमा केपी ओली पक्षका ९० प्रतिशत सांसदसमेत रहेको अध्यक्ष प्रचण्डले दाबी गरे । ‘केपीजीसंग भएका ९० प्रतिशत सांसद विघटनको विरुद्धमा छन् भन्ने मेरो जानकारीमा छ, गुटमा भएकाले बोल्न केही समस्या भएको हो,’ प्रचण्डले भने, ‘नेपालमा सकारात्मक ढंगले सोच्ने संविधानको रक्षाका पक्षमा रहेका राम्रो दिमाग भएका व्यक्तिहरु प्रधानमन्त्रीको संसद विघटनको विरोधमा छन् ।