Breaking News

संघीय तानाशाह (केपी ओली) लाई नियन्त्रण गर्न नसके हरेक प्रदेशमा तानाशाहहरु जन्मिने छन्

३ फागुन, काठमाडौं । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई तानाशाहको संज्ञा दिएका छन् ।

आज सोमबार सर्वोच्च अदालतको संवैधानिक इजालसमा जवाफी बहस गर्दै ९४ वर्षीय वरिष्ठ अधिवक्ता भण्डारीले संघीय तानाशाह (केपी ओली) लाई नियन्त्रण गर्न नसके हरेक प्रदेशमा तानाशाहहरु जन्मिने बताए ।

अविश्वास प्रस्ताव आउंदैछ भन्ने थाहा भएपछि विघटन गरिदिइहाल्ने, अहिले भएको त्यही हो’ भण्डारीले भने, संघको यो नजीर कायम गरिदियो भने प्रदेशहरुमा समेत अविश्वासका प्रस्तावहरु आउनै सक्दैन । यो बुझेर संघीय तानाशाहलाई रोकिएन भने हरेक प्रदेशमा सात वटा तानाशाह जन्मिन्छन् । एउटा तानाशाह भनिरहंदा सात–सात वटा जन्मिन्छन् ।’

उनले मुलुकमा अरु तानाशाहहरु जन्मिन नदिन अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गर्नुपर्ने जिकिर गरे ।

‘लालमोहर लागेपछि होइन, राजपत्रमा प्रकाशित भएपछि लागू हुन्छ ।

प्रतिनिधिसभा विघटन भएर लामो समय राजपत्रमा सूचना प्रकाशित नभएकोतर्फ इंगित गर्दै वरिष्ठ अधिवक्ता भण्डारीले कुनै पनि सरकारी निर्णय लालमोहर लागेपछि नभई राजपत्रमा प्रकाशित भएपछि लागू हुने बताए ।

‘लालमोहर लागेको मितिमा निर्णय लागू हुंदैन, राजपत्र जारी भएको मितिमा निर्णय लागु हुन्छ’ उनले भने ।

प्रतिनिधिसभा विघटन पुस ५ गते भएको थियो । तर, राजपत्रमा प्रकाशित नभएको भन्दै संवैधानिक इजालसमा माघ ८ गते कुरा उठेको थियो । त्यसपछि सरकारले माघ ९ गते संसद विघटनको सूचना राजपत्रमा प्रकाशन गरेको थियो ।

राजपत्रमा सूचना प्रकाशन हुनुभन्दा अघि संसदमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएकोले उक्त अविश्वासको प्रस्ताव वैध रहेको वरिष्ठ अधिवक्ता भण्डारीको भनाइ थियो ।

वरिष्ठ अधिवक्ता, कृष्णप्रसाद भण्डारी