२९ माघ, विराटनगर । बिराटनगरमा पाहुना आएका ज्वाईले धारिलो हतियार प्रहार गर्दा मोरङको जहदा गाउंपालिका– १ कि ५५ वर्षीया जोखनीदेवी सरबरियाको मृत्यु भएको छ ।
हत्यामा संलग्नताको आरोपमा प्रहरीले २७ वर्षीय प्रेमलाल सरबरियालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार बुधबार बिहान घरायसी विवादमा पाहुना आएका सरबरियाले सासूको टाउकोमा दाउ प्रहार गरेका थिए ।
गम्भीर घाइते उनलाई उपचारका लागि कोसी अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो करिब ३ बजे मृत्यु भएको हो ।
झापाको गौरीगञ्ज गाउँपालिका १ घर भएका प्रेमलाल ११ दिनअघि ससुराली आएका थिए । बुधबार बिहान उनको श्रीमती र सासूसंग विवाद भएको थियो ।
‘हत्याको कारण घरायसी विवाद हो’ डीएसपी राईले भने ‘प्रेमलाललाई पक्राउ गरी अनुसन्धान सुरु गरेका छौं ।’ प्रेमलाललाई प्रहरीले बुधबार ससुराली घरबाट नै पक्राउ गरेको थियो । उनलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए ।