२८ माघ, काठमाडौं । प्रधानमन्त्रीको प्रतिगमनका बिरुद्ध आज राजधानीमा नेकपा प्रचण्ड–माधव समूहले गरेको बिरोध सभामा नेता रघुजी पन्तले जनता कोसंग छन् भनेर हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन् ।
प्रधानमन्त्री ओली हालै मात्र पशुपतिनाथ गएको उल्लेख गर्दै उनले नबोल्ने पशुपतिनाथ होइन, बोल्ने पशुपतिनाथलाई हेर्न आग्रह गरे । जनसभामा नेता पन्तले पशुपतिनाथ गएका प्रधानमन्त्रीले करिव १ अर्ब लाग्ने जलहरि बनाउन ३० करोड तत्काल दिने घोषणा गरेको भन्दै आलोचना गरेका छन् ।
राजाहरुले आफ्नो सम्बोधनको अन्त्यमा जहिल्यै पशुपतिनाथले हामी सबैको कल्याण गरुन् भन्ने गरेको स्मरण गर्दै उनले भने, ‘पशुपतिनाथले राम्रै कल्याण गरे, नारायणहिटीबाट नागार्जुन पु¥याइदिए । अब ओजीलाई के कृपा गर्ने हो ?
पशुपतिनाथले कृपा गर्ने भए राजा वीरेन्द्रको वंश नाश हुने थिएन भन्दै नेता पन्तले भने, ‘ओजीजी नबोल्ने पशुपतिनाथ होइन, बोल्ने पशुपतिनाथहरुलाई खुसी बनाउनुस्, जो यहां उपस्थित छन् । तराईका झुप्रोमा छन्, हिमाल र पहाडको झुप्रोमा छन्, मेची किनारमा छन्, महाकाली किनारमा छन् ।’
‘बोल्ने पशुपतिनाथ भनेका जनता भएको भन्दै उनले अघि भने, ‘चुनौती दिएर भन्न चाहन्छौं, आज गनौं । तपाईंले सत्ता र शक्तिको दुरुपयोग गरेर ल्याएका मानिसहरु र ज्यान हल्केलामा राखेर संविधानको रक्षाका लागि आएका जनता ।’
प्रचण्ड–माधव समूहका नेता पन्तले प्रधानमन्त्री ओलीको २३ माघको सम्बोधनमा समेत प्रश्न उठाए । आफ्नो पालामा जस्तो विकास कहिल्यै नभएको भनेका ओलीले केहीबेरमा प्रचण्ड र माधव नेपालले हातखुट्टा बांधेर काम गर्न नदिएको भनेको भन्दै उनले भने, ‘कुन सांचो हो ? हातखुट्टा बांधेर काम गर्न नदिएको भए तपाईले दाबी गरेको जस्तो विकास कसरी भयो ? विकास नै विकास भएको भए प्रचण्ड–माधवले कसरी हात खुट्टा बांधे जस्ता प्रतिप्रश्न गरेका थिए ?