६५ बर्षे बृद्धामा कोरोना भाइरस भएको पृटि

कदर समाचार
२० चैत, काठमाडौं । बिश्वभरी फैलिएको कोरोना भाइरस को प्रभाव नेपालमा त्यति नभएपनि आज एक जना छैटौं कोरोना भाइरस (कोभिड–१९) संक्रमित बागलुङकी ६५ वर्षीया वृद्धा भएको खुलेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्धा भएको पुष्टि गरेका छन् । उनी चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएकी थिइन् ।
अहिले संक्रमण पुष्टि भएकी वृद्धा र तेस्रो संक्रमित बागलुङकै १९ वर्षीया किशोरीकी आफन्त हुन् । दुबै बेल्जियमबाट सँगै नेपाल आएका थिए । त्यसपछि उनीहरु यती एयरलाइन्सको विमानबाट पोखरा पुगे । एकदिन आफन्तकहाँ बसेर उनीहरु दुबै जिपमा बाग्लुङ पुगेका थिए । ‘घरमा आएपछि सामान्य भेटघाट गर्नुभएको रहेछ । सँगै आएकी किशोरीमा संक्रमण देखिएपछि उहाँ पनि क्वारेन्टाइनमा बस्नुभएको जानकारी पाइएको छ ।
बागलुङ अस्पताल स्रोतकाअनुसार उनलाई दमको समस्या थियो । तर, बेल्जियमबाट फर्किएपछि कोरोना संक्रमणको कुनै लक्षण पनि देखिएको थिएन । संक्रमण देखिएपछि उनलाई होम क्वारेन्टाइनबाट बागलुङ अस्पताल ल्याउने तयारी भइरहेको छ । नेपालमा अहिलेसम्म ६ जनामा कोरोना संक्रमण देखियो । संक्रमित सबै विदेशबाट आएका हुन् । त्यसमा पनि दोस्रो, तेस्रो र छैटौं संक्रमित चैत ४ गते दोहाबाट कतार एयरवेजको एउटै विमानमा आएका थिए । सुरुमा चैत १० गते काठमाडौंकी १९ वर्षकी युवतीमा संक्रमण देखियो । त्यसपछि विमानमा आएकाहरुको खोजी गर्दै परीक्षण गर्ने क्रममा बागलुङकी १९ वर्षीया किशोरीको पोजेटिभ रिपोर्ट आयो ।