Breaking News

निर्वाचनको तयारी गर्न प्रधानमन्त्रीद्धारा निर्वाचन आयोगलाई निर्देशन

२७ माघ, काठमाडौं । प्रधानमन्त्री तथा नेपकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओली आज निर्वाचन आयोगमा गएका छन् । उनले निर्वाचन आयोगलाई निर्देशन दिंदै भने, आगामी वैशाख १७ र २७ गतेलाई तोकिएको निर्वाचन सम्पन्न गर्ने गरी तयारी गर्न निर्वाचन आयोगलाई आग्रह गरे । यसअघि नेकपा विवादपछि प्रचण्ड–माधव पक्षले निर्वाचन हुन नसक्ने भन्दै निर्वाचन आयोगलाई निर्वाचन प्रक्रिया अघि नबढाउन आग्रह गरेको थियो ।

प्रधानमन्त्री ओली निर्वाचन आयोगको कार्यालय पुगेर निर्वाचनको तयारीबारे जानकारी लिएपछि निर्वाचन तयारी निरन्तर अघि बढाउन सुझाव दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आयोग परिसरमा उपस्थित सञ्चारकर्मीलाई जानकारी दिए ।

थापाका अनुसार प्रधानमन्त्रीलाई आयोगको तयारीबारे प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र आयुक्तहरुले जानकारी गराएका थिए । उनीहरुले आयोगको तयारी, सुरक्षा, बजेट लगायतका विषयमा जानकारी गराएका थिए । आयोगको तयारीबारे जानकारी पाएपछि प्रधानमन्त्रीले धन्यवाद दिंदै निर्वाचन प्रक्रियालाई अघि बढाउन आग्रह गरेको थापाको भनाइ छ ।

प्रधानमन्त्री र आयोगलबीच नेकपा विवादबारे कुनै छलफल नभएको पनि थापाले जानकारी दिए । उनले आयोगले माघ ११ गते गरेको निर्णय र माघ २० मा परेको निवेदनबारे सामान्य जानकारी मात्रै गराएको थापाले बताए ।