२५ माघ, विराटनगर । आज आइतबार ढिलोगरी सुरु भएको प्रदेश १ को प्रदेशसभा बैठकमा सत्तारुढ दलले नै अवरुद्ध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले दुई साताका लागि बैठक स्थगित गरे ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध गत पुस १२ गते सत्तारुढ दलकै प्रचण्ड–माधव समूहले दर्ता गराएको अविश्वासको प्रस्ताव टेवल गर्ने कार्यसूची थियो । तर, सभामुखले बैठक सुरु गर्ने बित्तिकै सत्तारुढ दलको ओली समूहले अवरुद्ध गर्याे । सरकार पक्षले नै अवरुद्ध गरेपछि कार्यसूचीमा प्रवेश नगरी बैठक ९ फागुनसम्मका लागि स्थगित भयो ।
मुख्यमन्त्री राईविरुद्ध प्रचण्ड–माधव समूहका ३७ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । पार्टी एउटै भएकाले प्रस्ताव दर्ता गराएको केही दिनपछि ओली समूहले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने १६ जनालाई निलम्बन गरेको थियो । आइतबार कारवाहीमा परेकालाई बैठकमा प्रवेश गर्न दिन नमिल्ने ओली समूहको अडान थियो ।
सभामुख भण्डारीले आइतबार दिउंसो २ बजेका लागि बैठक बोलाएका थिए । कार्यव्यवस्था परामर्श समितिको बैठक अघि ओली समूह र प्रचण्ड– माधव समूहका नेता छलफलमा बसे । छलफलमा सहभागी ओली समूहका नेता हिक्मतकुमार कार्की र बिमल कार्कीले बैठक १÷२ दिन सार्न आग्रह गरे । प्रचण्ड–माधव समूहका नेता इन्द्र आङ्बो, राजेन्द् राई र लछुमन तिवारीले अविश्वासको प्रस्ताव टेवल गरेपछि केही दिनलाई सार्न तयार भए । तर, ओली समूहले आइतबारको बैठक स्थगित गर्नुपर्ने बताएपछि सहमति जुटेन ।
विहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्यो । संसदको हिउंदे अधिवेशनका लागि सरकारले बिजनेस दिन सकेको छैन । बिजनेशका रुपमा अविश्वासको प्रस्ताव मात्र छ । बैठकमा अविश्वासको प्रस्ताव टेवुल गर्नुे विषय उठ्दा ओली समूहले सूचना टांसेर बैठक रोक्नुपर्ने बतायो । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र प्रचण्ड–माधव समूहले मानेन् ।
प्रचण्ड–माधव समूह अविश्वासको प्रस्ताव टेवल गरेर बैठक स्थगित गर्नुपर्ने अडानमा रह्यो । ओली समूहले सूचना टांस गरेर स्थगित गर्नुपर्ने अडान राख्यो । बैठक सञ्चालन गर्ने हुंदा आफ्नो समूहले कारवाही गरेका १६ जनालाई कुनै हालतमा प्रवेश नदिने अडानमा ओली समूह बस्यो । सहमति नजुटेपछि सभामुखले अविश्वासको प्रस्ताव टेवल गर्ने कार्यसूची निकाले । करिब ४ बजे बसेको बैठकमा ओली समूहले असहमति जनाएपछि कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगित भयो ।
नेकपा प्रचण्ड–माधव समूहका नेता राजेन्द्र राईले सरकारले संसद अवरुद्ध गर्नु संसदीय इतिहासमा अनौठो घटना भएको बताए । सभामुखले सरकारसंगको सांठगांठमा १५ दिनका लागि बैठक स्थगित गरेको उनको गुनासो छ ।
‘हामीसंग बैठक बस्दा आजका लागि मात्रै बैठक स्थगित गरौं भन्नुभएको थियो । कार्यव्यवस्था परामर्श समितिको बैठकमा २–३ खाले कुरा गर्नुभयो ।’ राईले भने ‘ सभामुखले दुई साता बैठक स्थगित गर्नुभयो । यसमा हाम्रो असहमति
छ ।’
प्रस्तावको सामना गर्नुको सट्टा अवरोध गरेर आयु लम्ब्याउने काम गर्नु गलत रहेको उनले बताए । सभामुखले दुई साता स्थगित गरेपछि प्रतिपक्षी दलका तर्फबाट चांडो बैठक बोलाउन मौखिक आग्रह गरिएको उनले बताए । दलहरुका तर्फबाट तत्काल बैठक बोलाउन लिखित पत्र दिने तयारी रहेको उनले बताए ।