Breaking News

केरोना कोषमा २ अर्ब १७ करोड जम्मा

कदर समाचार
बिश्वभरी फैलिएको कोरोना (कोभिड–१९) भाइरसविरुद्ध लड्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा आवद्ध देशहरूले स्थापना गरेको ‘सार्क कोभिड–१९ आपतकालीन कोष’मा दुई अर्ब १७ करोड रुपैयाँभन्दा बढी जम्मा हुने भएको छ ।
नेपालले पनि यो कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने जनाइसकेको छ ।
कोषमा भारतले सबभन्दा बढी एक करोड अमेरिकी डलर, श्रीलंकाले ५० लाख डलर, बंगलादेशले १५ लाख डलर, अफगानिस्तानले १० लाख डलर, माल्दिभ्सले दुई लाख डलर र भुटानले एक लाख डलर जम्मा गर्ने भएका छन् ।
चैत २ गतेको भिडियो कन्फ्रेन्सबाट सार्क राष्ट्रका सदस्यहरूले आपतकालीन कोष स्थापना गरेर कोरोनासँग सामूहिक रुपमा लड्ने सहमती गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेको कोषमा सदस्य देशहरूलाई स्वयंसेवी योगदानको आधारमा रकम जम्मा गर्न भनिएको छ ।
प्राथमिकतामा आफ्नै देश

कोषमा जम्मा रकम कसरी खर्च गर्ने भन्ने कार्य्विधि तय गर्ने जिम्मेवारी सार्क परराष्ट्र सचिवहरूलाई दिइएको छ । यसको नेतृत्व भारतीय विदेश सचिवले गरेका छन् ।
कोषको रकम सार्क देशहरूमा अति आवश्यक चिकित्सकीय सामग्री आपूर्ति तथा स्वास्थ्य उपकरण खरिदमा लगाइने भएको छ । घोषणा गरेको रकम खर्च प्राथमिकतामा सम्बन्धित देश नै पर्ने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले बताए ।
संक्रमण बढेर एकअर्काको सहयोग नभई नहुने अवस्थामा भने कोषको रकम आवश्यकताको आधारमा खर्च गर्न सकिने डा. भट्टराईले उल्लेख गरे । मोदीले कोष स्थापनाको प्रस्ताव गर्दा पनि आवश्यकता अनुसार जुनसुकै मुलुकले रकम उपयोग गर्नसक्ने बताएका थिए ।
गत बिहीबार स्वास्थ्य सेवा विभाग स्तरीय भिडियो कन्फ्रेन्समा कोरोना रोकथाम तथा नियन्त्रणका लागि साझा सूचना केन्द्र बनाउने सहमति भएको छ ।
कन्फ्रेन्समा सहभागी स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ एक सुत्रीय लक्ष्य बनाएर कोरोनाको सामना गर्न सबै देश तयार भएको बताउँछन् ।

दक्षिण एसियामा कोरोना
कोरोनाबाट दक्षिण एसियामा ६० जनाको ज्यान गइसकेको छ । बुधबार बिहानसम्म भारतमा ४५ जनाको ज्यान गएको छ । यस्तै, पाकिस्तानमा २६, बंगलादेशमा ५, अफगानिस्तानमा ४ र श्रीलंकामा २ जनाको ज्यान गएको छ ।
संक्रमितको संख्या भने पाकिस्तानमा धेरै छ । पाकिस्तानमा दुई हजार ३९, भारतमा १५ सय ९०, श्रीलंकामा एक सय ४३, अफगानिस्तानमा एक सय ९६, बंगलादेशमा ५१, माल्दिभ्समा १८, नेपालमा ५ र भुटानमा ४ जनामा कोरोना संक्रमण देखिएको छ ।
अहिलेसम्मको तथ्यांक हेर्दा दक्षिण एशियामा पाकिस्तानमा कोरोनाको सबभन्दा बढी असर देखिन्छ ।
पाकिस्तानको अपरिपक्वता
सार्क कोभिड–१९ आपतकालीन कोषमा रकम जम्मा नगर्ने पाकिस्तान एक्लो देश हो । जबकी भिडियो कन्फरेन्समा उसले पनि कोषमा रकम राख्ने प्रतिबद्धता जनाएको थियो ।
‘भिडियो कन्फेरेन्सदेखि नै पाकिस्तानले आफनो कूटनीतिक परिपक्वता देखाउन सकेको छैन’ एक पूर्वपरराष्ट्रमन्त्री भन्छन्, ‘सार्कको सन्दर्भमा भारतले गरेको गल्ती कोरोना महामारीविरुद्धको लडाईमा पाकिस्तानले गरिरहेको छ ।’
भिडियो कन्फ्रेन्समा नेपाल, भारत, बंगलादेश, श्रीलंका र भुटानबाट प्रधानमन्त्रीले सहभागिता जनाएका थिए । अफगानिस्तान र माल्दिभ्सका राष्ट्रपतिले भाग लिए ।
सात देशबाट राष्ट्र प्रमुख वा कार्यकारी प्रमुख सहभागी मञ्चमा पाकिस्तानले राज्यमन्त्री स्तरीय प्रतिनिधि पठाएको थियो । पाकिस्तानबाट प्रधानमन्त्रीका स्वास्थ्य सहायक डा. जाफर मिर्जा सहभागी थिए । कोभिड–१९ आपतकालीन कोषलाई सार्क महासचिव मातहत राख्नुपर्ने पाकिस्तानको माग छ ।
नेपाललाई अवसर
पाकिस्तानको तर्फबाट सार्क महासचिव बनेका अम्जद हुसेन बी सियालको पालामा शिखर सम्मेलन हुनसकेन । पाकिस्तानमा शिखर सम्मेलन गर्न भारत अवरोध बन्यो ।
भारत–पाक टकरावका कारण चलायमान हुन नसकेको सार्कमा नेपालले आफ्नो भूमिका देखाउनुपर्ने परराष्ट्र मामिलाका जानकारहरू बताउँछन् ।
अध्यक्ष राष्ट्र भएको नाताले पनि सार्कलाई चलायमान बनाउन नेपालले नेतृत्वदायी भूमिका निभाउनुपर्ने उनीहरुको मत छ । पञ्चशीलमा आधारित परराष्ट्र नीति लिएको नेपालका लागि कोभिड–१९ को महामारी सार्क देशहरूलाई जोड्ने राम्रो अवसर हुनसक्छ ।

लेखक : चैत्र १९, काठमाडौं