राष्ट्रिय राजनीतिक उतार चढावले विकासको कामलाई प्रभावित हुन्नः मुख्यमन्त्री पोख्रेल

१८ माघ रुपन्देही । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोख्रेलले राष्ट्रिय तहमा आएको राजनीतिक उतार चढावले विकासको कामलाई प्रभावित नहुने बताएका छन् ।
मुख्यमन्त्री पोखरेलले राष्ट्रिय राजनीतिमा चलिरहेको बहसलाई नबुझी प्रदेश तथा स्थानीय तहमा धारणा बनाईनु र केन्द्रमा देखिएको विवादमा तरंगित हुने प्रवृत्ति गलत भएको बताएका हुन ्।
आईतबार रुपन्देहीको मणिग्राममा आयोजित प्रदेश समन्वय परिषद्को चौथो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले स्थानीय र प्रदेश तहको नेतृत्व व्यक्तिगत र गुटगत स्वार्थका लागि केन्द्रको नेतृत्व तहमा उत्पन्न विवाद र आलोचनाहरुको पछि लाग्न नहुने बताए ।
राजनीतिक स्थायित्वका लागि स्थानीय र प्रदेश तहबाट केन्द्रलाई फरक खालको सन्देस दिनुपर्ने आवश्यकता औंल्याउँदै मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेशको विकास निर्माणमा केन्द्रको विवादको कुनै प्रभाव पर्न नदिने र विकास निर्माणको काममा एक भएर लाग्नुपर्ने बताए ।
मुख्यमन्त्री पोखरेलले प्रतिनिधिसभा र नेकपा विवाद सर्वोच्च अदालत र निर्वाचन आयोगमा पुगिसकेकोले त्यसको निरुपर्णका लागी पनि संवैधानिक अंगप्रति भरोसा गर्नुपर्ने बताए। बैठकमा प्रदेशका सबै जिल्ला समन्वय समितिका प्रमुख तथा प्रदेश समन्वय परिषद आवद्ध पालिकाका प्रमुखको सहभागिता रहेको थियो ।