Breaking News

‘ओलीको निरंकुशता चुड्कीको भरमा ध्वस्त हुन्छ

१५ माघ, बुटवल । नेकपाको प्रचण्ड–माधव समूहले आज बुटवलमा गरेको बृहत कार्यकर्ता सभामा बोल्ने क्रममा नेकपा अध्यक्ष प्रचण्डले केपी शर्मा ओलीको निरंकुशतालाई ध्वस्त पार्ने बताएका छन् ।

ओलीलाई आफैले प्रस्ताव गरेर अध्यक्ष र प्रधानमन्त्री बनाएको स्मरण गर्दै प्रचण्डले केपी ओली सामन्ती निरंकुशताको एजेन्ट जस्तो देखिएको भन्दै प्रचण्डले ओलीको निरंकुशता केही महिना मात्र टिक्ने बताए ।

प्रतिनिधिसभा विघटनविरुद्ध सो समूहले बुटवलमा गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने विश्वास व्यक्त गर्दै प्रचण्डले घुमाउरो भाषामा अदालतले नगरे जनताको अदालतले गर्ने बताए ।

‘ओलीको निरंकुशता चुड्कीको भरमा ध्वस्त हुने छ, केही महिनाभित्र’ प्रचण्डले भने, ‘संसद पुनस्थापना हुन्छ, अदालतप्रति विश्वास छ, तर सबभन्दा ठूलो अदालत जनता हो ।’

ओलीले पार्टी एकता तोड्ने र संविधानको घाँटी रेट्ने काम गरेको प्रचण्डले आरोप लगाए । दुई वर्षभित्र आफ्नो पार्टी सरकारमा जाने र नयाँ नेपालको जग बसाल्ने प्रचण्डले बताए ।