आफूले दिएको मन्तव्यलाई लिएर गलत प्रचार गरियो

नागरिक अगुवा, नारायण वाग्ले

१३ माघ, काठमाडौं । हिजो प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिगमनविरूद्ध आन्दोलन गरिरहेको बृहत् नागरिक आन्दोलनका अगुवा लेखक, पत्रकार तथा अभियन्ता नारायण वाग्लेले आफूले भन्दै नभनेको कुरा प्रचारमा ल्याइएको बताएका छन् ।

बालुवाटारमा हिजे भएको विरोध प्रदर्शनका क्रममा आफूले दिएको मन्तव्यलाई लिएर गलत प्रचार गरिएको बताएका
हुन् ।

‘नागरिक आन्दोलनलाई विकर्षित गर्न यस्तो चाल सुरू भएको हो,’ वाग्लेले ट्वीट गर्दै भनेका छन् ।

‘संविधानमा धर्म निरपेक्षता लेखिएको छ । त्यसैले मन्दिर बनाउने पूजा गर्ने काम बन्द हुनुपर्छ । धर्म निरपेक्षताका लागि मन्दिरहरू भत्काउनुपर्छ। पूजापाठ बन्द गर्नुपर्छ’ भनी ट्वीटरमा वाग्लेको फोटो राखेर प्रचारमा ल्याइएको छ ।

उनले भाषणमा भनेका थिए, ‘बालुवाटारमा बसेकोले पहिला देशभर मन्दिर बनाउँछु भन्दै हिँडे । अहिले पूजा आरती गर्दै हिँड्दैछन् । संविधानमा धर्मनिरपेक्षता लेखिएको तर ओलीले त्यही संघीयता र धर्मनिरपेक्षता खलबल्याउन चाहेका हुन् ।’

प्रधानमन्त्री केपी ओलीले गैरसंवैधानिक रुपमा प्रतिनिधिसभा विघटनपछि बृहत् नागरिक आन्दोलन सुरू भएको छ । यो आन्दोलन बालुवाटारतर्फ सोझिएपछि कतिपयले अभियन्तालाई विवादमा ल्याउने प्रयास गरेको भन्दै आलोचना भइरहेको छ ।