पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्धको महाअभियोग प्रस्ताव माथिल्लो सदन सिनेटमा

एजेन्सी

१३ माघ, काठमाण्डौ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्धको महाअभियोग प्रस्ताव माथिल्लो सदन सिनेटमा पुगेको छ। तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभबाट पारित भइसकेको उक्त प्रस्ताव सोमबार माथिल्लो सदनमा पठाइएको हो।

जनवरी ६ मा संसद भवनमा हिंसा भड्काउन उक्साएको आरोपमा ट्रम्पमाथि महाअभियोग ल्याइएको हो। सिनेटमा महाअभियोगको प्रस्तावमा फेब्रुअरी ९ देखि छलफल हुने अपेक्षा गरिएको छ।

यसअघि दुई पार्टीहरूले सिनेटमा ट्रम्पविरूद्धको महाअभियोगमा दुई सातापछिमात्र छलफल गर्ने सहमति भएको थियो।

राष्ट्रपति जो बाइडेनको कार्यकालको सुरूमा उनले गरेका महत्वपूर्ण नियुक्ति र कोरोना राहत प्याकेजलाई प्राथमिकता दिए ट्रम्पलाई पनि आफ्नाविरूद्धको प्रस्तावमा तयारी गर्न समय उपलब्ध हुने भएकाले दुबै पार्टी सम्झौतामा पुगेका हुन्।

बाइडेनले आफ्नो क्याबिनेटमा नियुक्त गरेका धेरैजसो मन्त्री र अन्य अधिकारीहरू सिनेटबाट अनुमोदित हुन बाँकी छ। उनले कोरोना प्रभावितका लागि १९ खर्ब डलरको राहत प्याकेज ल्याउन लागेका छन्। उक्त प्याकेज पनि सिनेटबाट पारित हुनुपर्छ।