आफूहरूकै पार्टीलाई निर्वाचन आयोगले मान्यता दिने छ

नेपाल प्रचण्ड-नेपाल पक्षका प्रवक्ता, नारायणकाजी श्रेष्ठ

१२ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड(नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूहरूकै पार्टीलाई निर्वाचन आयोगले मान्यता दिने दाबी गरेका छन् ।

आयोगले केपी शर्मा ओली र प्रचण्ड(नेपाल पक्ष दुबैलाई मान्यता नदिएको सन्दर्भमा प्रवक्ता श्रेष्ठले सोमबार पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा अनावश्यक ढिलो र आशंका गर्ने कार्य कुनै कोणबाट पनि हुन नहुने बताए ।

उनले आयोगको पत्रको प्रतिक्षा आफूहरूले गरिरहेको उनले बताए । आयोगले गरेको निर्णयको आधिकारिक प्रति जारी भएपछि औपचारिक रूपमा पार्टीले धारणा बनाउने उनको भनाइ थियो ।

‘दलको ऐनले स्पष्ट व्यवस्था गरेको सन्दर्भमा आयोगले सही ढंगले जानु उपर्युक्त हुन्थ्यो त्यसो किन गरेन भन्ने छ,’ उनले भने, ‘हाम्रो पार्टी नै आधिकारिक भन्नेमा कुनै विवाद छैन। त्यो फैसला आयोगले गर्छ भन्नेमा कुनै द्विविधा छैन । तर अनावश्यक ढिलो र आशंका गर्ने कार्य कुनै कोणबाट पनि नहोस् ।’

निर्वाचन आयोगले छिटो कानुनसम्मत निर्णय गर्नुपर्ने उनले बताए । आयोग कुनै पनि द्विविधामा पर्न नहुने उनले भनेका छन् ।