Breaking News

चीन र भारतका सैनिकहरूबीच सीमा क्षेत्रमा फेरि झडप, झडपमा २० चिनियाँ र ४ भारतीय सैनिक घाइते

१२ माघ, काठमाडौं । चीन र भारतका सैनिकहरूबीच सीमा क्षेत्रमा फेरि झडप भएको छ । भारतीय सञ्चारमाध्यमहरू का अनुसार गत साता उत्तरी सिक्किमको नाकु लामा दुई देशका सैनिकहरूबीच झडप भएको हो ।

झडपमा २० चिनियाँ र ४ भारतीय सैनिक घाइते भएको सैन्य स्रोतलाई उद्धृत गर्दै इन्डिया टुडेले जनाएको छ ।

चिनियाँ सैनिक भारतीय भूमिमा आउन खोजेपछि भारतीय सेनाले रोकेको भारतीय सञ्चारमाध्यमको दाबी छ ।

अहिले झडप भएको स्थानमा अवस्था तनावपूर्ण भए पनि स्थिर रहेको छ ।

यसअघि गत असारमा भारत-चीन सीमाको गल्वान उपत्यकामा भएको सैन्य झडपमा परी २० जना भारतीय सैनिकको मृत्यु भएको थियो ।

पछिल्लो समय सीमामा स्थिति नियन्त्रणमा लिन दुबै देशले सैन्य तथा कूटनीतिक स्तरका वार्तालाई जारी राखेका बेला नाकु लाको घटना भएको हो ।

नाकु लामा झडप भएकोबारे चिनियाँ पक्षले भने कुनै जानकारी दिएको छैन ।

भारत र चीनबीच अहिलेसम्म सीमा निर्धारण हुन सकेको छैन। पूर्वको अरूणाञ्चलदेखि पश्चिममा आस्काई चीनसम्म दुई देशले आ(आफ्नो दाबी गरेपछि संसारका दुई विशाल जनसंख्या भएका यी मुलुकको सीमाना विवाद नटुंगिएको हो ।

सीमाका विषयमा सन् १९६२ मा युद्ध दुई देशबीच युद्ध भएको थियो । पछिल्लो समय सीमा क्षेत्रमा जाने सैनिकहरूले हतियार नलिने व्यवस्था गरिए पनि बेलाबेलामा दुई देशका सैनिकबीच ठाउँ-ठाउँमा झडपका घटना भइरहन्छन् ।